वार्षिकोत्सव मनाउने नगरकै पहिलो बन्यो देउराली आधारभूत विद्यालय | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

वार्षिकोत्सव मनाउने नगरकै पहिलो बन्यो देउराली आधारभूत विद्यालय

खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारस्थित देउराली आधारभूत विद्यालयको मणिभ जयन्ती मनाइएको छ। स्थापनाको १५ औं वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गर्दै बुधबार विद्यालयको मणिभ जयन्ती मनाइएको हो। हाजिरी जवाफ प्रतियोगीता, विव्यास तथा शिक्षक अभिभावक संघका पूर्वअध्यक्षलाई सम्मान, विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत, सांस्कृतिक कार्यक्रम गर्दै दिवस मनाइएको प्रअ गोपाल बिश्वकर्माले बताए । ११ वडा रहेको नगरपालिकाका आधारभूत विद्यालयमध्ये देउराली आधारभूत विद्यालय वार्षिकोत्सव मनाउने पहिलो आधारभूत विद्यालय बनेको छ ।  हाजिरी जवाफ प्रतियोगीतामा देउराली आधारभुत विद्यालयका मन्दिप राउत, मनिषा राउत र रमिला अधिकारीको समूह प्रथम, त्रिकन्य आधारभुत विद्यालयका प्रज्ञा राई, युनिका राई र लोकेस राईको समूह दोश्रो तथा च्यास्मीटार माविका भावना राई, संगम राई र कुसुम राईको समूह तेस्राे भएका छन् । हाजिरी जवाफ प्रतियोगीतामा सात विद्यालयका विद्यार्थीको सहभागिता थियो ।  कार्यक्रममा विव्यासका पूर्वअध्यक्ष चंखबहादुर राई, शम्भुकुमार खत्री र शिक्षक अभिभावक संघका पूर्वअध्यक्ष दुर्गबहादुर खत्री, पदमबहादुर अधिकारी र ज्ञानकुमार अधिकारीलाई सम्मान गरिएको छ। प्रमुख अतिथिका रुपमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई, विशेष अतिथिका रूपमा उपमेयर रमेश राउत, शिक्षा शाखा संयोजक पदम कार्कीलगायतले हाजिरी जवाफ प्रतियोगीताका विजेतालाई पुरस्कार तथा विव्यास र शिक्षक अभिभावक संघका पूर्वअध्यक्षलाई सम्मान–पत्र प्रदान गरेका छन् ।

हाल वैदेशिक रोजगारीमा रहेर विद्यालयलाई फर्निचर सहयोग गर्ने अभिभावक घनराज घिमिरेलाई धन्यवाद ज्ञापन गरिएको छ। कार्यक्रममा प्रअ बिश्वकर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक प्रतिबेदनमार्फत प्रअ बिश्वकर्माले देउराली आविलाई नगरकै नमूना विद्यालय बनाउने संकल्प गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिलाई विद्यालयकातर्फबाट मायाँको चिनो प्रदान गरिएको छ। २०६४ सालमा स्थापना भएको विद्यालयमा हाल ६० जना विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);