खोटाङ। नेपाल पत्रकार महासंघ शाखा, खोटाङले समाचार लेखेको विषयमा पक्राउ परेका उदयपुरका पत्रकार गजेन्द्र राईको बिना सर्त रिहाइको माग गरेको छ। समाचार लेखेको विषयमा पत्रकार राईलाई साइवर क्राइमअन्तर्गतको मुद्दा चलाइएकोमा आपत्ति जनाउँदै महासंघले सो मुद्दा खारेज गर्न र विना सर्त रिहा गर्न माग गरेको हो । महासंघका अध्यक्ष दिलीप खत्रीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत कानुनी उपचार खोज्नुपर्नेमा साइवर क्राइमको मुद्दा लगाएर पक्राउ गर्नु आपत्तिजनक रहेको बताएका छन् । ‘समाचार लेखेको विषयमा पत्रकार राईविरुद्ध साइबर क्राइमको मुद्दा दायर भएको छ। यो आफैमा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने काम हो। समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत कानुनी उपचार खोज्नुपर्नेमा साइबर अपराधको मुद्दा लगाएर पक्राउ गर्नु आपत्तिजनक छ,’ अध्यक्ष खत्रीले भने, ‘समाजको विकृति, विसंगति, भ्रष्टाचार, अपराधविरुद्ध निगरानी राख्न र आवाज बुलन्द गराउनु सञ्चार जगतको प्रमुख दायित्व हो । राज्यको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुण्ठित गर्दै पत्रकार राईमाथि लगाइएको मुद्दा खारेज गर्न र विना सर्त रिहा गर्न माग गर्दछौँ ।’ नेपाल पत्रकार महासंघ उदयपुर शाखाका निवर्तमान सहसचिव, रेडियो नेपालका संवाददाता एवं निगरानीपोष्ट डटकमका सञ्चालक राईलाई प्रहरीले १० मंसिरमा गाईघाटबाट पक्राउ गरेको थियो । उनलाई निगरानीपोष्टमा प्रकाशित भिडियोको विषयलाई लिएर प्रहरीले बिना पक्राउपुर्जी पक्राउ गरेको महासंघले जनाएको छ। हाल उनलाई साइबर व्यूरोले दरबारमार्ग प्रहरी कार्यलयको हिरासतमा राखेको छ।
नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ, किरात राई पत्रकार संघ लगायतले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी पत्रकार राईको रिहाइको माग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र प्रेश काउन्सिल नेपालले मंगलबार काउन्सिलको क्षेत्राधिकारभित्र पर्ने मुद्दामा प्रहरीले कारबाही चलाउनु कानुनविपरीत भएको जनाएका छन् ।