विद्युत प्राधिकरण भरतपुरका प्रमुखसहित आठजनाविरुद्ध अभद्र व्यवहारको मुद्दा | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

विद्युत प्राधिकरण भरतपुरका प्रमुखसहित आठजनाविरुद्ध अभद्र व्यवहारको मुद्दा

चितवन। चितवनका पत्रकार कृष्ण आचार्यलाई कुटपिट गर्ने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले विद्युत प्राधिकरण भरतपुरका प्रमुख राजीव सिंहसहित आठ कर्मचारीविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरेको हो ।शुक्रबार विद्युत प्राधिकरणको कार्यालयभित्रै कर्मचारीहरू मासु र मदिरा सेवन गरेर बसेका बेला रिपोर्टिङ गर्न पुगेका पत्रकार आचार्यमाथि कर्मचारीले कुटपिट र अभद्र व्यवहार गरेका थिए । अभद्र व्यवहार गरेको आरोपमा भरतपुर केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेल पक्राउ परेका हुन् ।पौडेल शुक्रबार राति नै पक्राउ परेका थिए । अन्यलाई भोलिपल्ट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट आज म्याद थपको अनुमति लिने बेला विद्युतका प्रमुख सिंहलाई पक्राउ गर्न अनुमति लिइने उनले बताए । सिंहलाई अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन । मुद्दा दर्ता भएपछि सिंह फरार भएका छन् ।

नारायणी अनलाइनका सम्पादक तथा सञ्चारपत्र दैनिकका प्रकाशक आचार्यमाथि विद्युत प्राधिकरण कर्मचारीले कार्यालयको गेट बन्द गरेर कुटपिट गरेका थिए । कार्यालयको पर्खालबाट हामफालेर आचार्यले ज्यान जोगाएका हुन् । घटनापछि नेपाल पत्रकार महासंघसहित पत्रकारका विभिन्न पेसागत संगठनहरुले घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् । पत्रकार आचार्य प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ चितवनका सदस्य पनि हुन् ।

Leave a Reply

ताजा समाचार