काठमाडौं जिल्ला अदालतले दियो सम्पादक पाठकलाई सफाइ | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

काठमाडौं जिल्ला अदालतले दियो सम्पादक पाठकलाई सफाइ

काठमाडौं, २५ कार्तिक । यस मार्गदर्शनन्यूजडटकमका सम्पादक दीपक पाठकलाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको छ । पूणेश्वर प्रसाद उपाध्यायको इजलासले सोमवार सम्पादक पाठकलाई सफाइ दिएको हो । सम्पादक पाठकले फेसवुक मार्फत नेकपाका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक आलोचनालाई गर्नु भएको थियो ।

सोही आलोचनाबारेमा दाहालको सचिवालयले प्रेस कान्सिलमा दिएको निवेदनलाई हतियार बनाएर प्रेस काउन्सिलले सम्पादक पाठकविरुद्ध साइवर क्राइममा उजुरी दिएको थियो । सो उजुरीका आधारमा प्रहरीले वैशाख १७ गते पक्राउ गरी मुद्दा चलाएको थियो । पक्राउ परेको ४ दिनमा अदालतले धरौटीमा रिहा गरेको थियो । उक्त मुद्दाको सुनुवाई गर्दै अदालतले सम्पादक पाठकविरुद्ध विपक्षी प्रेस काउन्सिल नेपालले गरेको माग दावी नठहर्ने फैसला गरेको छ ।

अदालतको सो फैसलापछि सम्पादक पाठकले अदालत र आफ्नो पक्षमा वकालत गर्ने अधिवक्ताहरुलाई धन्यवाद दिनु भएको छ । उहाँले सामाजिक सञ्जाल फेसवेकमा लेख्नु भएको छ “२०७६ चैत्र २६ गते सामाजिक सन्जालमा एउटा प्रतिनिधि राजनीतिक आक्रोस ब्यक्त गरेकै आधारमा तत्कालिन प्रेस काउन्सिलका कथित स्वघोषित अध्यक्षको मसिनो र कमजोर टेको समाएर म माथी सम्मानित काठमाडौं जिल्ला अदालतमा दायर गरिएको मुद्दाबाट आज सफाइ पाएको छु ।

मेरो मुद्दाको शिलशिलामा मेरो तर्फबाट बहस पैरवी गर्नु हुने अधिबक्ता आदरणिय संविधानविद डा. भिमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, प्रविन पन्दाक, बिनोदमणि भट्टराई, लबन न्यौपाने, दिनेश त्रिपाठी लगायत कानुन व्यावसायी ब्यक्तित्वहरुलाइ बिशेष धन्यबाद दिन चाहन्छु ।

संविधान प्रदत्त ब्यक्तिको अभिब्यक्ति स्वतन्त्रताको अधिकार माथी धावा बोल्ने, पत्रकार डेकेन्द्र थापा, विरेन्द्र शाह,शिक्षक मुक्तिनाथ अधिकारी लगायतको हत्या गर्ने, प्रशस्त प्रजातान्त्रीक मार्ग हुदाँहुदै नितान्त आफ्नो र आफ्ना परिवारको अभिस्ट र महत्वकांन्क्षा पुरा गर्न हजारौं नेपालीहरुको ज्यान जाने गरी थोपरिएको कथित युद्द र यसका पुर्ब युद्ध–सरदारहरुको बिरुद्ध म निरन्तर रुपमा बोलिरहनेछु, यसबापत म एउटा होइन हजार मुद्दा खेप्न तयार छु । अभिब्यक्ति स्वतन्त्रता जिन्दाबाद स्वतन्त्र न्यायपालिका जिन्दाबाद ।”

पत्रपत्रिका र पत्रकारसँग सम्वन्धित निकाय प्रेस काउन्सिलले नै पत्रकारले गरेको राजनीतिक आलोचनालाई अपराधको रुप दिएर थुनाउनु अन्यायपूर्ण भएको भन्दै आम पत्रकार, वुद्धिजीवी, वकील तथा सर्वसाधारणले समेत सामाजिक सञ्जाल मार्फत विरोध जनाएका थिए । सम्पादक पाठक पक्राउ परेपछि नेपाल पत्रकार महासंघ काठमाडौं शाखालगायत पत्रकारितासँग सम्वन्धित संघसंस्थाले भत्र्सना गर्दै तत्काल रिहा गर्न र झुठा मुद्दा खारेज र्ग माग गरेका थिए ।

कोरोना भाइरस संक्रमणको जोखिममा समेत कार्यक्षेत्रमा खटिदै आएका पत्रकारलाई हतोत्साहित गर्ने गरी सम्पादक पाठकलाई हिरासतमा लिनु, पक्राउ गर्नु अघि नै दुई दिनको म्याद थपिनु, हतासमा मुद्दा चलाउन प्रयास गरिनु जस्ता घटनाहरुले प्रेस काउन्सिलका तत्कालिन कावा अध्यक्ष किशोर श्रेष्ठको पुर्वाग्रही, पुर्वनियोजित र षड्यन्त्र हो भन्दै आम पत्रकारले विरोध जनाएका थिए ।

दुई दशकदेखि पत्रकारिता गर्दै आउनु भएका कलमजिवी तथा राज्यले नै पत्यार गरेर प्रेस काउन्सिल, रेडियो नेपाल जस्ता निकायको सञ्चालक बोर्डमा नियुक्त गरिसकेको सम्पादक पाठकलाई यसरी पक्राउ र धरपकड गर्नु भनेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेप भएको वरिष्ठ पत्रकारहरुले बताएका थिए ।

Leave a Reply

ताजा समाचार