सिराहा ३ : प्रदेशसभामा दुवै गठबन्धनका उम्मेदवारबीच कडा टक्कर पक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सिराहा ३ : प्रदेशसभामा दुवै गठबन्धनका उम्मेदवारबीच कडा टक्कर पक्का

सिरहा। आगामी निर्वाचनमा सिराहा–३ को प्रदेशसभा ‘क’ र ‘ख’मा एमाले गठबन्धन र बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अवस्था छ ।
प्रदेशसभा ‘क’मा सत्ता गठबन्धनबाट कांग्रेसका रामसगुन यादव र एमाले गठबन्धनका मनोज सिंह मुख्य प्रतिस्पर्धामा छन् । स्वतन्त्रका सन्तोष यादवले पनि दुवै उम्मेदवारलाई चुनौती दिइरहेको मतदाताहरूको भनाइ छ ।प्रदेशसभा ‘ख’मा एमाले गठबन्धनका जसपाबाट रेणु यादव, बाम लोकतान्त्रिक गठबन्धनका एकीकृत समाजवादीबाट प्रमोद यादव, जनमत पार्टीबाट संगीतकार ज्ञानु यादव र एमालेका गोपालप्रसाद यादव, डा. प्रविन यादवले स्वतन्त्र ‘बागी’ उम्मेदवारी दिएको छ । स्वतन्त्र उम्मेदवार डा. यादव सिराहा नगरपालिकाका मेयर डा. नविन यादवका भाइ हुन् । डा. प्रविनकुमार यादव र डा. नविनकुमार यादव दुवै सिराहा एमालेका प्रभावशाली नेता स्व. हेमनारायण यादवका छोरा हुन् ।सिरहा ३ प्रदेशसभा ‘क’ र ‘ख’मा सत्ता गठबन्धन र इतर गठबन्धनसहित स्वतन्त्र उम्मेदवारहरू अहिले जनताको घरदैलोमा छन् । प्रदेशसभामा दुवै गठबन्धन र स्वतन्त्र उम्मेदवारहरू बढी यादव समुदायका भए पनि संगठनको मत स्वतन्त्रतिर नजान सक्ने जानकार बताउँछन् ।  जसपा र एमालेको आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका नेताले स्वतन्त्र उम्मेदवारी दिएकाले सिरहा–३ प्रदेशसभामा पनि सत्ता गठबन्धन नै बलियो रहेको छ।
यस क्षेत्रको ४१ वडामा गत स्थानीय निर्वाचनमा एमाले–जसपाले प्राप्त गरेको मत परिणामका आधारमा एमाले गठबन्धन अगाडी छ । यही कारण उम्मेदवारहरू आफ्नो जित सुनिश्चित रहेको बताउँदै आएको छ । पाँच दलीय बाम–लोकतान्त्रिक गठबन्धनमा माओवादी, कांगे्रस र एकीकृत समाजवादीको मतान्तर पनि धेरै नरहेको र जसपा गठबन्धनमा देखिएको असन्तुष्टले जित सुनिश्चित रहेको उम्मेदवाहरूको दाबी छ। एमाले जसपा गठबन्धनले उत्तर दक्षिणको उम्मेदवार मिलाउन नसकेको र आफ्नै पार्टीभित्र असन्तुष्टि रहेकोले स्थानीय तहको मतलाई आधार मान्न सकिने अवस्था नरहेको जानकारहरू बताउँछन् । एमाले–जसपा गठबन्धनले सिरहा ३ प्रदेशसभा ‘ख’मा सिरहा पालिकाभित्रको उम्मेदवार दिन नसकेकोले पनि पार्टीभित्र असन्तुष्टि चुलिएको छ । यो गठबन्धनमा प्रतिनिधि र प्रदेशसभा दुवै उम्मेदवार प्रदेशसभा ‘ख’भन्दा बाहिरका रहेका छन् ।

प्रदेशसभा ‘क’मा भने जसपा पार्टी परित्याग गरि मनोनयन कै दिन एमाले प्रवेश गरेकोलाई उम्मेदवार बनाइएको छ । यही कारण एमाले र जसपा नेता तथा कार्यकर्ताको असन्तुष्टीले प्रदेशसभा ‘क’ कमजोर नै रहेको देखिन्छ । सिरहा ३ ‘क’अन्तर्गत गोलबजार नगरपालिकाका १२ वडा, नरहा गाउँपालिकाको १ र २ वडा, विष्णुपुर गाउँपालिकाको १ र ५ वडा, अर्नमा गाउँपालिकाको १, २ र ३ गरी जम्मा १९ वडा छन् । यस्तै, प्रदेशसभा ‘ख’मा सिरहा नगरपालिकाका २२ वडा गरी ४१ वडा छन् । गत स्थानीय तहको मत परिणामलाई आधार मान्दा सत्ता गठबन्धनका वडा अध्यक्षहरूले पाएको मत जम्मा ३४ हजार ५४ छ । जसमध्ये माओवादीले नौं हजार ५७१, कांग्रेसले १८ हजार १६, एकीकृत समाजवादीले ६ हजार २१० र तमलोपाले २५७  प्राप्त गरेका थिए । एमाले–जसपा गठबन्धनको पक्षमा ३४ हजार ८३० मत खसेको थियो । जसमध्ये एमालेले २० हजार १३७ र जसपाको १४ हजार ६९३ मत प्राप्त गरेको थिए । दुवै गठबन्धनको मतान्तर धेरै फाराकिलो नरहेको देखिन्छ । बाम लोकतान्त्रिक गठबन्धनभन्दा एमाले जसपा गठबन्धन ७७६ मतले अगाडी देखिन्छ ।स्थानीय तहको मतको आधारमा प्रतिनिधिसभाका उम्मेदवार लिलानाथ श्रेष्ठ सत्ता गठबन्धनका उम्मेदवार विश्वनाथ साहभन्दा बलियो देखिएका छन् । तर, एमालेभित्रको असन्तुष्टी, बागी उम्मेदवारी, निवर्तमान सांसद श्रेष्ठको ‘एन्टी’ मतका कारण चुनौतीपूर्ण छ । गत ३१ भदौमा सिरहा आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराएका गोपाल यादव र सिराहाका नगरप्रमुख नवीनकुमार यादवको भाई प्रवीनकुमार यादवले प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिएकाले पनि एमाले गठबन्धनलाई ठाडो चुनौती थपिएको छ।

०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट श्रेष्ठ निर्वाचित भएका थिए । यस क्षेत्रमा सात पार्टीका १४ स्वतन्त्रसहित २१ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);