काठमाडौं । स्पेनिस ला लिगा लिडर बार्सिलोनाले फेरि अर्को शानदार जित दर्ता गरेको छ ।
लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा डि भिगोलाई ५–० ले हरायो ।
घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले दुई तथा नेइमार, इभान रेकिटिक र स्यामुएल उमटिटीले एक एक गोल गरे । २४ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए ।
४० औं मिनेटमा नेइमारले गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २–० को अग्रता लियो । ५७ औं मिनेटमा रेकिटिक तथा ६१ औं मिनेटमा उमटिटीले गोल गरेपछि बार्सिलोनाको अग्रता ४–० मा पुग्यो ।
६४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५–० को शानदार जित दिलाए ।
शीर्ष स्थानको बार्सिलोनाको ६० अंक छ । मेस्सीले यो सिजन ला लिगामा अहिलेसम्म २३ गोल गरिसकेका छन् । सात गोलका लागि सहयोग गरेका उनी सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन् ।