काठमाडौं । म्याग्दी जिल्ला घर भै काठमाडौंमा बसोवास गर्दै आएका र नेकपा एमालेमा आस्था राख्नेहरुको भातृ संगठन म्याग्दी काठमाडौं सम्पर्क मञ्चको बैठकले नेकपा एमालेबाट म्याग्दी जिल्लामा उम्मेद्वार बनेकालाई चुनावमा विजयी गराउन तमबहादुर गुरुङको संम्योजकत्वमा चुनाव परिचालन कमिटी गठन गरेको छ । शनिवार भएको मञ्चको बैठकले अध्यक्ष तमबहादुर गुरुङको संयोजकत्वमा चुनाव परिचालन कमिटी गठन गरेको हो । गुरुङको संयोजकत्वमा गठन भएको चुनाव परिचालन कमिटीको सदस्यमा १ सय १ जना सदस्य रहेको मञ्चका उपाध्यक्ष महेश श्रेष्ठले जानाकारी दिनु भयो ।
एक प्रतिनिधिसभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एमालेबाट प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ, प्रदेशसभा १ मा देवेन्द्र बहादुर केसी र प्रदेसभा २ मा याम गर्बुजा उम्मेद्ववार छन् । ०७० सालमा भएको संविधान सभा निर्वाचन र ०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेले म्याग्दी जिल्लामा विजयी प्राप्त गरेको थियो । १ नगरपालिका र ५ गाउँपालिका गरेर म्याग्दीमा ६ वटा स्थानीयतह रहेको छ । गत स्थानीय तहको निर्वाचनमा एमाले ४ वटा पालिकाको प्रमुख र ३ वटा पालिकाको उपप्रमुख पदमा विजयी बनेको छ । वेनी नगरपालिकाको प्रमुखमा एमाले विजयी बनेको छ भने उप प्रमुखमा गठबन्धबाट माओवादी केन्द्र विजयी बनेको छ । त्यसैगरी एमाले अन्नपुर्ण, मालिका र मंगला गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा विजयी बनेको छ । कांग्रेस रघुगंगा गाउँपालिकाको प्रमुख र उप–प्रमुखमा विजयी बनेको छ भने धौवलागिरी गाउँपालिकामा गठबन्धबाट प्रमुखमा कांग्रेस र उप–प्रमुखमा माओवादी केन्द्र विजयी बनेको छ । समग्रमा हेर्दा म्याग्दी जिल्लामा एमाले बलियो र शक्तिशालि पार्टीको रुपमा छ ।





