२१ फागुन, काठमाडौं । शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले संविधान कार्यान्वयन गर्नका लागि स्थानीय तहको निर्वाचन सफल बनाउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय नागरिक समाजद्वारा १०७ औँ अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा उहाँले निर्वाचन सफल हुनका लागि संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन आवश्यक भएकाले त्यसका लागि एमालेलाई सहयोगी भूमिका खेल्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “संविधानले सुनिश्चित गरेको महिला अधिकारलाई सुनिश्चित गर्न देशका प्रमुख पदमा महिला पुग्नैपर्छ । अहिले प्रमुख पदमा महिला हुनु गौरवको विषय हो । स्थानीय तहको निर्वाचनमा पनि धेरै महिला नेतृत्वमा आई हकअधिकारको रक्षाका लागि अग्रणी भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।”
सहरी विकास राज्यमन्त्री मिठू मल्ल र नेकपा एमालेकी नेत्री तथा पूर्वमन्त्री शान्ता मानवीले देशमा गणतन्त्र आए पनि सबै नेपाली महिलाले अनुभूति गर्न नसकेको बताउनुभयो । त्यसका लागि सबै मिलेर लाग्नुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।
यसैबीच, राष्ट्रिय नागरिक समाजद्वारा व्यवसायी, उद्यमी, बुद्धमार्गी, सामाजिक अभियन्ता, चिकित्सक, बैंकरलगायत क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका विभिन्न जिल्लाका २४ जना महिलालाई सम्मान गरिएको थियो ।




