हेमराज दाहाल सुनसरी,२१ फागुन । सुनसरीको नरसिंह ४ मा खोलाको जग्गा कब्जा गर्ने र रोक्ने दुई समूहबीच आज झडप हुदा दुई दर्जन बढी सर्वसाधारण घाइते भएका छन् । स्थितीलाई नियन्त्रणमा लिन अहिले त्यस क्षेत्रमा सुरक्षा सर्तकता बढाइएको छ । स्थानीय सुनसरी खोलाको ऐलानी जग्गा हडप्ने क्रममा स्थानी दुई समूहबीच झडप हुदा इसाद अन्सारी, रसिद अन्सारी, संजय यादव, बेचन यादव, अरुन मियाँ, सुभान मियाँ, सहिद मियाँ, जर्मुद्दिन मन्सुरी, धिरेन्द्र यादव, दिपेश यादवलगायतका स्थानी दुई दर्जनबढी घाइते भएका छन् ।
स्थितीलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले त्यस क्षेत्रमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ भने एकै ठाँउमा गाउलेलाई भेला हुन समेत रोक लगाइएको छ । सुनसरीको दक्षिणवर्ती क्षेत्र नरसिंहमा बिहान झडप भएपछि अहिले वविया क्षेत्रमा समेत प्रहरी परिचालन गरिएको छ । घाइतेहरु मध्ये रसिद मियाँ, कासिम मियाँ, संजय यादव, आलम मियाँ, इसाद अन्सारी र रहिस मियाँको न्युरो अस्पताल बिराटनगर उपचार भइरहेको छ भने अन्य घाइतेहरुको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।