डडेल्धुरा, २२ मसिंर । डडेल्धुराको भित्रीमधेश क्षेत्रबाट मतपेटिका बोकी सदरमुकाम ल्याउँदै गरेको गाडीलाई लक्षित गरी पर्शुराम नगरपालिका १२ को कैनपानीमा बम विस्फोट गराइएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बम विस्फोटनबाट बा १ झ ५५३९ नं को गाडीमा सामान्य क्षति पुगे पनि मतपेटिका भने सुरक्षित रहेका छ ।
त्यसैगरी भित्रीमधेशकै आलिताल गाउँपालिकाको सुनखोलामा मतपेटिका बोकेको अर्को गाडीलाई पनि लक्षित गरी बम विस्फोट गराइएको बताइएको छ ।
अज्ञात समूहले ती बम विस्फोट गराएको प्रहरीले जनाएको छ । अज्ञात समूहको अवरोधका कारण केही ठाउँको मत ल्याउन ढिलाइ भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अहिलेसम्म ११७ वटा मतदान केन्द्र मध्ये ७६ वटा केन्द्र्रका मतपेटिका जिल्ला सदरमुकाम ल्याइएको र बाँकी ४१ केन्द्रका मतपेटिका ल्याउने क्रम जारी रहेको छ ।