काठमाण्डौँ, १९ मंसिर । बलिउड अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा निधन भएको छ ।
पछिल्लो तीन सातादेखि मुम्बईको कोकिला बेन अस्पतालमा उपचाररत कपुरको सोमबार निधन भएको हो । उनलाई बलिउडमा कलाकारहरुले सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली दिईरहेका छन् । उनको आज अपराह्न १२ बजे अन्तिम संस्कार गरिने भारतीय मिडियाले जनाएको छ ।
शशी कपुरले १ सय ६० भन्दा बढी हिन्दी र अंग्रेजी चलचित्रमा अभिनय गरेका छन् । कपुरले नाटकबाट कलाकारिता सुरु गरेका थिए । सन् १९४४ देखि पिता पृथ्वीराज कपुरका साथ उनले अभिनय थालेका हुन् ।
सन् १९६० र ७० को दशकमा भारतीय फिल्मी उद्योगमा तहल्का मच्चाएका कपुरले अभिनय गरेको जब जब फूल खिले, कन्यादान, शर्मिली, आ गले लग जा, रोटी कपडा और मकान, चोर मचाए शोर लगायत चलचित्र निक्कै मन पराइएका थिए ।
सन् १९८४ मा पत्नी जेनिफरको क्यान्सरका कारण निधन भएपछि एक्लो जीवन बिताइरहेका कपुरलाई सन् २०११ मा पद्म भुषण र सन् २०१५ मा दादा साहेव पुरस्कार प्रदान गरिएको थियो ।