एजेन्सी, १८ मंसिर। जोर्डनका विदेशमन्त्रीले अमेरिकाले जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिए त्यसको खतरनाक परिणाम भोग्नुपर्ने चेतावनी दिएका बीबीसीले जनाएको छ।
अयमान सफादीले त्यस्तो घोषणाले अरब र मुस्लिम जगतमा ठूलो आक्रोश निम्त्याउन सक्ने अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनलाई भनेका छन्।
चुनावी अभियानका क्रममा गरेको प्रतिबद्धता कार्यान्वयन गर्ने क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पले त्यस्तो घोषणा गर्न सक्ने अड्कलबाजी बढ्दै गएको छ। ट्रम्पका ज्वाइँ जारेड कुश्नरले अहिलेसम्म त्यस्तो निर्णय भइनसकेको बताएका छन्।
ट्वीट गर्दै विदेशमन्त्री सफादीले भनेका छन्, इजरेलको राजधानीका रुपमा जेरुसलेमलाई मान्यता दिँदा त्यसले निम्त्याउने खतरनाक परिणामबारे अमेरिकी विदेशमन्त्री टिलर्सनसँग कुराकानी गरेँ। त्यस्तो निर्णयले अरब र मुस्लिम जगतमा आक्रोश निम्त्याउनेछ, तनाव बढाउने र शान्ति प्रयासलाई जोखिममा पुर्याउनेछ।
त्यसबारे अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक रुपमा कुनै प्रतिक्रिया जनाइसकेको छैन।




