काठमाण्डौँ, १७ मंसिर । विवेकशील साझा पार्टीका नेता तथा पूर्व सचिव किशोर थापाले अब संसदको चुनाव नलड्ने बताएका छन् ।
स्थानीय तहको चुनावमा काठमाण्डौं महानगरपालिकाको मेयरमा चुनाव लडेका थापाले संसदमा भने युवाहरुको लागि स्थान दिएको बताए । प्रकाश गिरीले सञ्चालन गरेको माउन्टेन टेलिभिजनको कार्यक्रम ‘सत्ता शासन’मा बोल्दै नेता थापाले कांग्रेस, एमाले, माओवादी जस्ता दलहरु बादको लडाइमा मात्र ब्यस्त रहेको भन्दै आफुहरु भने यस्तो विवादमा नपर्ने बताए । तर उनले आफुहरु लोकतन्त्रवादी भएको भने बताउन चुकेनन ।
त्यस्तै नेपाली कांग्रेसका नेता अर्जुननरसिह केसीले वाम गठवन्धनले दुइ तिहाइ मत ल्याए आफुले राजनीतिबाट सन्यास लिने बताएका घोषणा गरेका छन् । उनले अहिलेको निर्वाचन प्रणालीले गर्दा दुई तिहाइ कसैको पनि नआउने बताए । उनले कांग्रेस–एमालेको विचमा मतको ठुलो अन्तर नहुने बताए । उनले वाम गठवन्धनले चर्का कुरा गरेर घोषणापत्र जारी गरेकोले आफुहरुले पनि चर्को कुरा गरर घोषणापत्र जारी गर्न वाध्य भएको बताए।
माओवादी नेता दिनानाथ शर्माले माओवादी र एमाले विच पार्टी एकता हुने बताउदै तर यस्तो गठवन्धनले साम्यवाद वा अधिनायकवाद भने नल्याउने बताए । उनले ठुला पार्टीहरुको सहमतिमा संविधान जारी भएको र त्यसमा लोकतन्त्र स्विकार गरिसकेकोले कांग्रेसले अधिनायकवाद आउँछ भनेर हल्ला गर्नुको कुनै अर्थ नरहेको बताए ।