भट्टराई-यादव अनिच्छुक देखिएपछि ‘समाजवादी केन्द्र’को ‘च्याप्टर क्लोज’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भट्टराई-यादव अनिच्छुक देखिएपछि ‘समाजवादी केन्द्र’को ‘च्याप्टर क्लोज’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव ‘अनिच्छुक’ देखिएपछि ‘समाजवादी केन्द्र’ निमार्णको लगभग ‘च्याप्टर क्लोज’ भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको पहलमा निर्माण गर्न खोजिएको ‘समाजवादी केन्द्र’ भट्टराई र यादवको ‘अनिच्छा’का कारण ‘च्याप्टर क्लोज’ भएको हो ।

‘समाजवादी केन्द्र’ निर्माण छाडेर भट्टराईले आँखा चुनाव चिह्नसहित नेपाल समाजवादी पार्टी दर्ता गराएका छन् भने जसपा अध्यक्ष यादवले प्रचण्ड–नेपालले बोलाएको बैठकमा उपस्थित नहुने जनाइसकेका छन् । दुवै नेताले आनाकानी गरेपछि प्रचण्डले अबको चुनावी गठबन्धन पनि नेपाली कांग्रेससँगै हुने भनेर ‘यू–टर्न’ गरिसकेका छन् ।

संघीय संसदको निर्वाचनमा पाँच दलीय गठबन्धनका मुल नेतृत्वकर्ता नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई ‘तर्साउन’ तथा ‘बार्गेनिङ’ गर्नका लागि गठन गर्न खोजिएको ‘समाजवादी केन्द्र’ निर्माण नहुने नै भएपछि माओवादी अध्यक्ष प्रचण्ड पुनः कांग्रेसको विकल्प खोज्न नहुने अवस्थामा पुगेका छन् । जसका कारण गत बिहीबार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले ‘कांग्रेसको विकल्प खोज्नु हुन्न, गठबन्धनभित्रै वामपन्थीहरूको चुनावी उपकेन्द्र बनाउनु पर्ने’ बिफ्रिङ गरिसकेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले गठबन्धनप्रति प्रतिबद्ध नभएको जनाउँदै माओवादी र नेकपा एसले लिखित रुपमा नै आलोचना गरेका थिए, दुवै पार्टीले आ–आफनो केन्द्रीय समिति बैठकमा चुनावी गठबन्धनप्रति कांग्रेस इमान्दार नहुँदा समस्या देखापरेको भन्दै ‘पुनर्विचार’को संकेत गरेका थिए । जसकारण पनि दुवै दलको बैठकमा बोल्ने अधिकांश नेताले कांग्रेसलाई छाडेर वामपन्थीहरू बीचमा आगामी चुनावी गठबन्धन गर्नुपर्ने धारणा राखेका थिए ।

आगामी संसदीय निर्वाचनमा पनि कांग्रेसले ‘उचित सिट बाँडफाँट’ नगर्ने आशंका गर्दै प्रचण्ड–नेपालले ‘समाजवादी केन्द्र’ निर्माणको पहलकदमीको प्रयास गरेका थिए । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका ९ मध्ये पाँच सचिवालय सदस्यसमेतलाई बैठकमा उपस्थित गराएर समाजवादी केन्द्र निर्माणको सो प्रयास गरिए पनि अन्ततः त्यो आपसी मतभेदका कारण सफल नहुने संकेत देखिसकेको थियो ।

नेकपा एसका सम्मानीत नेता झलनाथ खनालले प्रचण्डसँग मिलेर समाजवादी केन्द्र निर्माण गर्नतर्फ लाग्नुभन्दा पुरानो पार्टी नेकपा एमालेसँग मिल्नका लागि पार्टीभित्र जोडबल गरिरहेका छन्, जसकारकाण अध्यक्ष नेपाललाई प्रचण्डसँग अघि बढ्न आन्तरिक कारणले समस्या भइरहेको छ ।

कांग्रेस–माओवादी केन्द्रसँग चुनावी गठबन्धन गरे पनि स्थानीय तहको निर्वाचनमा नै  इलामलगायतका जिल्लामा एमाले उम्मेदवारलाई जिताउन लागिपरेका खनाल एमालेसँग सकेसम्म एकता नभए चुनावी गठबन्धन गर्नुपर्ने पक्षमा धारणा राख्दै आएका छन् ।

पछिल्लो समयमा तत्कालीन नेकपा विभाजनमा प्रचण्डको १८ बुँदे आरोपका कारण भएको भन्दै आएका वामदेव गौतम पनि ओली (नेकपा एमाले)लाई छाडेर ‘समाजवादी केन्द्र’ निर्माण सम्भवः नहुने भन्दै फरक तर्क राखिरहेका छन् ।

‘सबै वामपन्थी दल र शुभेच्छुक दलहरूलाई समेटन सकियो भने समाजवादी केन्द्र निर्माण हुन सक्छ । तर, कांग्रेस र एमालेलाई तर्साउन र बार्गेनिङ गर्नका लागि भने यो सम्भवः छैन,’ गौतमले तर्क गर्दै आएका थिए । संघीय निर्वाचन केन्द्रित समाजवादी केन्द्र निमार्ण गर्नेभन्दा पनि पार्टी नै निर्माण गरेर जानुपर्ने गौतमको धारणा राख्दै आएका छन् ।

आफ्नै पार्टीभित्र पनि ‘समाजवादी केन्द्र’ निर्माणतर्फ जान अनिच्छुकको संख्या बढिरहेको बेला भट्टराई र यादवसमेत समावेश नहुने भएपछि सो विषयको ‘च्याप्टर क्लोज’ हुने देखिएको छ । जसका कारण माओवादी अध्यक्ष प्रचण्डले पनि ‘यू–टर्न’ भएर कांग्रेससँग गठबन्धनको विकल्प खोज्न नुहने बताएको राजनीतिक विश्लेषकहरूले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);