निर्वाचनमा शीर्ष नेता को कहाँ व्यस्त ? यस्तो छ कार्यतालिका | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०७९, बिहीबार

कांग्रेस सभापति शेरबहादुर देउवा : कैलाली र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न देउवा शुक्रबार पश्चिम लागेका छन् । शुक्रबार डोटी र अछामको कार्यक्रममा सहभागी भएका उनी १७ मंसिरदेखि निर्वाचनको दिनसम्म आफू उम्मेदवार रहेको गृहजिल्ला डडेल्धुरामा रहनेछन् ।

एमाले अध्यक्ष केपी ओली : बुधबार झापा पुगेका ओली चार दिन आफ्नै क्षेत्र नम्बर ५ मा केन्द्रित हुनेछन् । आइतबार मोरङ–३ र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन–३ मा हुने सभालाई सम्बोधन गरेर काठमाडौं फर्कने उनको कार्यक्रम छ ।

माओवादी अध्यक्ष प्रचण्ड : निर्वाचन नसकिएसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन–३ नछाड्ने भएका छन् । उनले निर्वाचनको मौन अवधि सुरु नभएसम्म घरदैलो कार्यक्रमलाई नै निरन्तरता दिनेछन् ।

एमाले नेता माधव नेपाल : नेता नेपाल आफ्नै निर्वाचन क्षेत्र काठमाडौं २ मा केन्द्रित भएका छन् । उनी शुक्रबार र शनिबार कागेश्वरी मनोहरा र शंखरापुरमा घरदैलोमा सहभागी हुनेछन् । बिहीबार उनले साँखुमा आयोजित चुनावी सभालाई सम्बोधन गरे ।

कांग्रेस नेता रामचन्द्र पौडेल : पौडेल शुक्रबारदेखि निर्वाचनको दिनसम्म आफ्नै निर्वाचन क्षेत्र तनहुँ २ मा घरदैलो र मतदाता भेटघाटमा व्यस्त हुनेछन् । उनले दमौली र भानु नगरपालिका तथा आबुखैरेनी गाउँपालिकामा घरदैलो कार्यक्रम गर्नेछन् ।

राप्रपा अध्यक्ष कमल थापा : राप्रपा अध्यक्ष थापा निर्वाचनको दिनसम्मै गृहजिल्ला मकवानपुरमै रहनेछन् । उनी मकवानपुर १ का साथै अन्य निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने राप्रपा सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव : यादव आफ्नो निर्वाचन क्षेत्र सप्तरी २ मै व्यस्त छन् । मौन अवधिसम्म हरेक राति यादवको चुनावी कार्यक्रमको सेड्युल बन्ने गरेको उनका सहयोगी अजय चौरसियाले बताए ।

महामन्त्री कोइराला आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त रहने : कांग्रेस महामन्त्री डा. शशांक कोइराला निर्वाचनसम्मै आफ्नै निर्वाचन क्षेत्र नवलपुरमा व्यस्त रहने भएका छन् । उनले अबका दिन आफ्नै निर्वाचन क्षेत्रमा घरदैलो र कोणसभामा बिताउने स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । ‘महामन्त्रीज्यू अब आफ्नै निर्वाचन क्षेत्रमा घरदैलो र मतदाता भेटघाटमा बिताउनु हुन्छ,’ तिवारीले भने, ‘जिल्लाबाहिर जाने कार्यक्रम छैन ।’

निधि पनि आफ्नै निर्वाचन क्षेत्रमा : कांग्रेस नेता विमलेन्द्र निधि पनि बिहीबारदेखि धनुषास्थित आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त भएका छन् । एक साता बिरामी भएर काठमाडौंस्थित ओम अस्पतालमा बिताएका निधि बुधबार गृहजिल्ला फर्केका थिए । अब आफ्नै निर्वाचन क्षेत्रमा आमसभा, घरदैलो र मतदाता भेटघाटमा व्यस्त रहने उनका सहयोगी रामजी दाहालले जानकारी दिए ।

एमाले शीर्ष नेता आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुने
एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेललगायत नेताहरू बुधबारदेखि आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त हुन थालेका हुन् ।

दुई सातासम्म देशव्यापी चुनावी सभालाई सम्बोधन गर्न देश दौडाहमा सक्रिय भएका अध्यक्ष ओली बुधबार झापा पुगेका छन् । बुधबार एकै दिन ओलीले झापाका दुईवटा भेलालाई सम्बोधन गर्नुका साथै मतदातासँग भेटघाट गरेका छन् । चार दिन आफ्नै क्षेत्रमा केन्द्रित हुन झापा झरेका ओली १७ मंसिरमा मोरङ–३ र चितवनमा हुने सभालाई सम्बोधन गरेर काठमाडौं फर्कने कार्यक्रम छ ।
एमाले वरिष्ठ नेता नेपाल र खनाल पनि अफ्नै निर्वाचन क्षेत्रमै केन्द्रित भएका छन् । नेपालले बिहीबार काठमाडौं साँखुमा हुने सभालाई सम्बोधन गर्दै छन् भने खनाल पनि आफ्नै निर्वाचन क्षेत्र इलाममा घरदैलोसहितको अभियानमा व्यस्त छन् ।

एमाले नेताको पाँचदिने कार्यतालिका
केपी ओली

१३ मंसिर : दमकमा पूर्वाञ्चलस्तरीय खेलाडी भेला र महिला भेलालाई सम्बोधन
१४ मंसिर : बिर्तामोड, भद्रपुर र दुबेमा हुने सभालाई सम्बोधन
१५ मंसिर : झापा ५ मा घरदैलो र कोणसभा
१६ मंसिर : सुनसरीमा हुने सभालाई सम्बोधन
१७ मंसिर : मोरङ–३ को पुष्पलाल चोक र चितवनमा हुने सभालाई सम्बोधन

झलनाथ खनाल
१३ मंसिर : सूर्योदय नगरपालिकाको गोर्खेको आमसभालाई सम्बोधन
१४ मंसिर : रोङ गाउँपालिकाको पाटापुरमा हुने आमसभामा सम्बोधन
१५ मंसिर : माई नगपालिकामा बृहत् आमसभा
१६ मंसिर : सूर्योदय नगरपालिकाको पशुपतिनगरमा आमसभा
१७ मंसिर : श्रीअन्तुमा सभा
१८ मंसिर : फिक्कल बजारमा संयुक्त चुनावी सभा

माधवकुमार नेपाल
१३ मंसिर : कागेश्वरी मनोहरा–६ मा घरदैलो, साँखुमा किसान सभा
१४ मंसिर : कागेश्वरी मनोहरा–८ मा घरदैलो
१५ मंसिर : तय नभइसकेको
१६ मंसिर : कामनपा–३२, कागेश्वरी मनोहरा-९ मा घरदैलो
१७ मंसिर : कागेश्वरी मनोहरा ९ र शंखरापुरमा घरदैलो
१८ मंसिर : कोटेश्वरमा चुनावी सभा

गौतम र पोखरेल पनि आफ्नै क्षेत्रमा
एमाले उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल पनि चुनावी क्षेत्रमा नियमित घरदैलो, मतदाता भेटघाट र कोणसभाजस्ता कार्यक्रममै व्यस्त देखिएका छन् । गौतमले बुधबार बर्दियाको बाँसगढी नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेका छन् । बिहीबार, शुक्रबार र शनिबार पनि गौतम चुनावी क्षेत्रमै केन्द्रित हुने उनका सहयोगी दीपक टमटाले बताए । उता, महासचिव पोखरेल पनि चुनावी क्षेत्र काठमाडौं–५ मै केन्द्रित भएका छन् ।

निर्वाचनसम्म प्रचण्डसहित शीर्ष नेताले निर्वाचन क्षेत्र नछोड्ने
दोस्रो चरणको निर्वाचन नहुँदासम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेता आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित हुने भएका छन् । निर्वाचनको प्रचारप्रसार गर्ने समय जम्मा चार दिन मात्र बाँकी भएकाले माओवादी केन्द्रका नेताले धेरैजसो समय आफ्नैे निर्वाचन क्षेत्रमा बिताउने भएका हुन् । २१ मंसिरको निर्वाचनका लागि १८ गतेदेखि मौन अवधि सुरु हुँदै छ।

महराले घरदैलोलाई प्राथमिकता दिने
दाङ–२ बाट प्रतिनिधिसभाका उम्मेदवार कृष्णबहादुर महरा आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त भएका छन् । निर्वाचनसम्मै महराले आफ्नै निर्वाचन क्षेत्रको घरदैलो, भेला र भेटघाटमा बिताउने निर्वाचन परिचालन समितिका संयोजक हेमराज शर्माले बताए । मतदातासँग प्रत्यक्ष भेटेर मतदाताका कुरा सुन्दा प्रभावकारी हुने भएपछि यस्तो रणनीति अपनाएको उनको भनाइ छ।

रायमाझीले जिल्ला नछोड्ने
अर्घखाँचीबाट प्रतिनिधिसभाका उम्मेदवार टोपबहादुर रायमाझी पनि निर्वाचनसम्म आफ्नै निर्वाचन क्षेत्रमा रहने भएका छन् । यो समय निर्वाचनका लागि एकदमै महत्वपूर्ण भएकाले आफ्नो निर्वाचन क्षेत्र नछोड्ने रायमाझीले बताए । अन्य उम्मेदवारजस्तै रायमाझीले कोण सभा, भेला, घरदैलो गरी निर्वाचन प्रचारप्रसार गरिरहेका छन् । आफू दैनिक बिहान ५ देखि राति ९ बजेसम्म निर्वाचन अभियानमा लागेको रायमाझीले बताए ।

परिणाम नआउँदासम्म मातृकाले निर्वाचन क्षेत्र नछोड्ने
धनुषा१ का उम्मेदवार माओवादी केन्द्रका नेता मातृका यादवले निर्वाचनको परिणाम नआउँदासम्म आफ्नो निर्वाचन क्षेत्र नछोड्ने योजना बनाएका छन्। मतदानपछि गडबड हुन सक्ने भएकाले अति आवश्यक कामबाहेक अरू समय आफ्नै निर्वाचन क्षेत्रमा बिताउने यादवले बताए।

– नयाँ पत्रिका दैनिकबाट