हेटौंडा। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा घरेलु टोली विजय यूथ क्लब फाइनलमा प्रवेश गरेको छ।
शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई स्तब्ध बनाउँदै विजय यूथ फाइनलमा प्रवेश गरेको हो। विजय यूथले पुलिसलाई १–० गोल अन्तरले पराजित गरेको हो । विजय यूथका लागि खेलको ५२औं मिनेटमा विदेशी खेलाडी पेपेले गरेको गोल नै निर्णायक बनेको हो । अमिर श्रेष्ठको कर्नर प्रहारलाई पेपेले हेड गर्दै उत्कृष्ट गोल गरेका हुन्।
पहिलो हाफ दुवै टिमले गोलरहित बराबरी खेलेको थियो। निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले उत्कृष्ट अवसरहरू गुमाएका थिए । खेलको म्यान अफ द म्याच निर्णायक गोलकर्ता पेपे भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।जारी प्रतियोगितामा शनिबार त्रिभुवन आर्मी क्लब र क्यामरुनको एभिनियर एफसीबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । यी दुई क्लबबीचको विजेताले ३० गते उपाधि भिडन्त गर्नेछ।स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।