पारा एथलेटिक्सः निशान र चन्द्रमालाई स्वर्ण पदक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पारा एथलेटिक्सः निशान र चन्द्रमालाई स्वर्ण पदक

काठमाडौं । निशान थापा र चन्द्रमा थापा क्षेत्रीले पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचापुड्कातर्फ स्वर्ण पदक जितेको छन् । मंगलबार त्रिपुरेश्वरस्थित दशरंग रंगशालामा भएको प्रतियोगितामा निशान पुरुष दुई सय मिटर दौडमा पहिलो भएका हुन् । देवराज घिमिरे दोश्रो तथा मानबहादुर श्रेष्ठ तेस्राे भए । चन्द्रमाले महिला एक सय मिटर दौडमा शीर्षस्थान हात पारिन् । सिर्जना सेन्चुरी दोस्राे तथा छोरीमाया थापा तेस्राे बने ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल पारा एथलेटिक्स संघको तत्वावधानमा सञ्चालित प्रतियोगिताको बहिरा क्षेत्रतर्फ महिला दुई सय मिटर दौडमा जयन्ती विष्टले स्वर्ण, पूजा बास्तोलाले रजत र हीरामाया घलेले कांस्य जिते । सो स्पर्धाको पुरुषमा अजय कर्ण, सौगात पोखरेल र उर्गेन गुरुङ क्रमशः शीर्ष तीन स्थानमा रहे ।

पुरुष चार सय मिटर दौडमा पनि अजयले स्वर्ण जिते । उर्गेन दोस्राे तथा अनिश खड्का तेस्राे बने । उक्त स्पर्धाको महिलामा हीरामायाले पहिलो स्थान हात पार्दै व्यक्तिगत दोहोरो स्वर्ण चुमिन् । विनिता थापा दोश्रो तथा सविता देउला तेस्राे भए ।

ह्विलचेयरको पुरुष एक सय मिटर दौडमा विराट भट्ट प्रथम, रिले तामाङ द्वितीय र होमनाथ राई तृतीय भए । सो स्पर्धाको महिलामा नरकुमारी कार्की पहिलो, कुमारी मगर दोस्राे र ईश्वरी न्यौपाने तेस्राे भए । ह्विलचेयरकै पुरुष ज्याभ्लिन थ्रोमा श्यामबहादुर रावलले स्वर्ण, रिले तामाङ दोस्राे तथा गिरीराज थापा तेस्राे भए । त्यस्तै स्पर्धाको महिलामा विमला खनाल पहिलो, कुमारी मगर दोस्राे र मनमाया भण्डारी तेस्राे भए ।

आंशिक दृष्टिविहीनको पुरुष २ सय मिटर दौडमा दयाराम नारायण चौधरी पहिलो, हेम थापा दोस्राे र विपीन वस्ती तेस्राे बने । सो स्पर्धाको महिलामा सरिता घिमिरे पहिलो, कृष्ण ढुंगाना दोस्राे र रचना पराजुली तेस्राे भए । पूर्ण दृष्टिविहीनको पुरुष दुई सय मिटर दौडमा सन्तोष साउद पहिलो, रत्नबहादुर राई दोस्राे तथा सौगात वगाले तेस्राे भए । उक्त स्पर्धाको महिलामा सुनिता नेपालीले स्वर्ण, संगीता घलेले रजत र रोजनी थापा मगरले कांस्य जिते ।

विजेतालाई राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।हरेक स्पर्धाका विजेतालाई एक हजार, दोस्राेलाई सात सय र तेस्राेलाई पाँच सय नगद पुरस्कार प्रदान गरियो । एकदिने प्रतियोगितामा ७४ खेलाडी सहभागी थिए । विभिन्न १२ खेल समावेश पारा राष्ट्रिय खेलकुदअन्तर्गत पारा एथलेटिक्ससहित ११ खेल सम्पन्न भइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);