काठमाडौं, ७ मंसिर । नेकपा एमालेले निर्वाचनलाई प्रभावित तुल्याउने गरी कुनै पनि गतिविधि नगर्न सरकारलाई चेतावनी दिएको छ । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मुखैमा कर्मचारी सरुवा, बढुवा लगायतका निर्वाचन आचारसंहिता विपरितका काम भईरहेका बेला एमालेले त्यसो नगर्न सरकारलाई सचेत गराएको हो ।
एमाले केन्द्रिय निर्वाचन परिचालन कमिटीले बिहीबार मुख्य सचिव लोकदर्शन रेग्मीसँग भेटगरी निर्वाचनको स्वच्छता कायम हुने गरी मतदाता, मटपेटिकाको सुरक्षा गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।
निर्वाचन आचारसंहिताको पूर्ण पालना र निर्वाचनको स्वच्छताका लागि सुदृढ सुरक्षा व्यवस्था गर्न सरकारलाई पुनः आग्रह गरिएको एमाले केन्द्रिय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले बताए ।
एमालेले मतदान भईसकेपछि संवेदनशील क्षेत्रबाट मत पेटिक ल्याउँदा राजनीतिक दलहरुको प्रतिनिधि पनि रहने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।