भरतपुरमा रामचन्द्र जगन्नाथ ब्रेकफाष्ट मिटिङ, सक्नुहुन्छ भने रेनुजीको उम्मेदवारी झिक्नुस् : जगन्नाथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भरतपुरमा रामचन्द्र जगन्नाथ ब्रेकफाष्ट मिटिङ, सक्नुहुन्छ भने रेनुजीको उम्मेदवारी झिक्नुस् : जगन्नाथ

काठमाडौं । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट विद्रोह गरेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवासँग भेट्न मानेनन्। देउवा सत्तागठबन्धनले गर्ने चुनावी सभाका लागि भन्दै बुधबार नै चितवन पुगेका थिए। बरू जगन्नाथले आज कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटेर कुराकानी गरेका छन्। भरतपुरस्थित होटल सिरागचुलीमा रामचन्द्र र जगन्नाथसहित उनी पक्षका नेताहरूबीच छोटो कुराकानी भएको हो।

जगन्नाथले मेयरमा उम्मेदवारी दिँदा प्रस्तावक रहेका कृष्णलाल सापकोटा र समर्थक रहेकी मीना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठलगायतसँग रामचन्द्रले होटलकै कोठामा बेक्रफाष्ट लिँदै कुरा गरेका थिए। आठ दिनपछि वैशाख ३० मा स्थानीय निर्वाचन हुँदैछ। भरतपुरमा सत्तागठबन्धनबाट माओवादीकी नेता रेनु दाहाल मेयर र कांग्रेस नेता चित्रसेन अधिकारी उपमेयर उम्मेदवार छन्।

भरतपुर यसपालि माओवादीलाई छाड्न नहुनेमा कांग्रेसका नेताहरू थिए। तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छ महानगरमध्ये भरतपुर नै माओवादीलाई चुनाव लड्न सजिलो हुने भन्दै दाबी गरेपछि सत्तागठबन्धनमा भरतपुर माओवादीलाई दिने सहमति भएको थियो।

कांग्रेसका पुराना नेता जगन्नाथ यसपालि भरतपुर माओवादीलाई छाड्ने पक्षमा छैनन्। उनी स्वतन्त्र ढंगले उम्मदेवारी दर्ता गरेर चुनाव चिन्ह भुइँकटहर लिएर प्रचारमा जुटिसकेका छन्। महानगरभित्र कांग्रेसको धेरै भोट रहेकोले थोरै भोट भएको माओवादीलाई मेयर नछाड्ने दाबी पनि जगन्नाथ गर्छन्। उनले कांग्रेस बचाउन आफ्नो उम्मेदवारी रहेको भन्ने गरेका छन्।

जगन्नाथलाई आज चितवनमा हुने सत्तागठबन्धनको चुनावी सभाअघि उम्मदेवारबाट निस्कृय बनाउने प्रयास गरिएको थियो। सत्तागठबन्धनले बनाएको चुनावी तयारी तथा अनुगमन समितिका संयोजकसमेत रहेका रामचन्द्रले त्यो प्रयासस्वरूप जगन्नाथ र उनका सहयोगीसँग भेटे पनि कुरा मिल्न सकेन।

भेटमा रामचन्द्रले संविधान मिच्ने प्रयास भइरहेकोबाट कुरा सुरू गरेका थिए। ‘संविधान सिध्याउने षड्यन्त्र भइरहेको छ, त्यो षड्यन्त्र स्थानीय तहसम्मै छ,’ पौडेलले भने, ‘संविधान र लोकतन्त्र बचाउनका निम्ति बनेको यो गठबन्धनलाई तपाईंहरूले सहयोग गर्नुपर्‍यो।’

पौडेल बोलेपछि कांग्रेस पूर्वसभापतिसमेत रहेका जगन्नाथका प्रस्तावक कृष्णलाल सापकोटाले कुरा राखे। उनले कांग्रेस बचाउन र भरतपुरमा संगठन बलियो पार्नकै लागि जगन्नाथले यसपालि मेयर पदमा उम्मेदवारी दिएकोले फिर्ता नहुने जिकीर गरेका थिए।

‘कांग्रेस जोगाउनकै लागि जगन्नाथले उम्मेदवारी दिनुभएको हो। यो पछि गएर कांग्रेसकै हितका लागि हुन्छ। त्यही पनि स्वतन्त्र उम्मेदवारी दिएकोले अब फिर्ता गर भनेर नेताहरूले दबाब दिन पनि मिल्दैन,’ उनले भने।

रामचन्द्रले पटकपटक फोन गरेपछि मात्रै आफूहरू भेटका लागि आएको उनीहरूको भनाइ थियो। ‘रामचन्द्रजी, तपाईंले बारम्बार फोन गरेकोले तपाईंकै सम्मानका लागि हामी यहासम्म आएका हौं। गठबन्धन गर्ने पार्टी निर्णयमा हाम्रो सहमति रहँदैन,’ उनले भने। उनले बरू संघीय चुनावमा प्रचण्डलाई सहयोग गर्न सकिने तर्क राखेका थिए।

‘पछि प्रचण्डलाई सहयोग गरौंला तर मेयरमा दोहोर्‍याएर रेनुलाई भोट दिन्नौं,’ उनले भने, ‘०७४ मा पनि कांग्रेसले मेयर छाडेको हो, सधैँ माओवादीलाई मेयर छाड्न सकिन्न।’यसपछि बोले जगन्नाथ। उनले पनि कांग्रेस बचाउन आफ्नो उम्मेदवारी रहेको बताए।

‘कांग्रेसलाई बचाउने यो अभियानमा म एक्लै छैन, साथीहरू र धेरैको समर्थन छ,’ उनले भने, ‘अब म धेरै अघि बढेँ, उम्मेदवारी निस्कृय गर्न सकिन्न।’ जगन्नाथले रामचन्द्रलाई बरू सक्ने भए रेनुलाई मेयर उम्मेदवारबाट पछि हटाउन आग्रह गरेका थिए। ‘रामचन्द्र दाइले भेट्न बोलाउनु भएको थियो। प्रस्तावक र समर्थकसहित गएर भेटेर आएँ। हाम्रो बटमलाइन उहाँलाई सुनाए हामी कुनै पनि हालतमा मेयर उम्मेवारी छोड्दैनौं,’ भेटवार्ताबारे जगन्नाथले, ‘हाम्रो उम्मेदवारी कायमै छ। बरू सक्नुहुन्छ भने हाम्रो प्रतिस्पर्धी उम्मेदवार रेनु दाहालजीको उम्मेवारी झिक्नुस्।’

यति भनेपछि उनीहरू चुनावी प्रचारका कार्यक्रममा जान ढिलाइ भयो भन्दै होटलबाट बाहिरिएका थिए। जगन्नाथसँग सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डसमेत भेट्न इच्छुक रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);