भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बु जिल्लामा निर्मित खानेपानी आपूर्ति परियोजनाको उद्घाटन  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बु जिल्लामा निर्मित खानेपानी आपूर्ति परियोजनाको उद्घाटन 

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका खुमजुङ र कुण्डे गाउँमा निर्माण गरिएको खानेपानी आपूर्ति परियोजनाको माननीय राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा  र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव प्रियाधरसिनी आरले आज संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

सो उद्घाटन समारोहमा सोलुखुम्बु जिल्ला समन्वय समिति, खुम्बु पासाङल्हामु गाउँपालिका र खानेपानी उपभोक्ता तथा व्यवस्थापन समितिका अधिकारी लगायत स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थिति थियो । 

यो योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “ इण्डिया ७५ आजादीका अमृत महोत्सव” अन्तगर्त यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येको एक भएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ । 

‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको ४ करोड २३ लाख ९० हजार अनुदान सहयोगमा यस परियोजनामा निर्माण गरिएको जनाइएको छ । यस परियोजनाले खुमजुङ र कुण्डे क्षेत्रका ६०० घरपरिवार तथा विद्यालय लगायत अस्पताल, सरकारी कार्यलय र घुम्न आउने पर्यटकका लागि सफा तथा स्वच्छ खानेपानी उपलब्ध गराउनेछ । यस परियोजनाले विशेष गरी त्यस क्षेत्रका बासिन्दालाई पानी भर्न टाढासम्म जानुपर्ने दैनिक झन्झटबाट मुक्त गरी उनीहरुको जीवनस्तर उकास्न मद्दत गर्नेछ । 

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ जसमध्ये ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये सोलुखुम्बुका २ गरी प्रदेश १ मा ७८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले सोलुखुम्बु जिल्लामा ३ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको दूतावासले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);