भारतको ३१.६९ करोड आर्थिक सहयोगमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय निर्माण सुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०७९, मंगलबार

भारतको ३१.६९ करोड आर्थिक सहयोगमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय निर्माण सुरु

काठमाडौं । भारतको ३१.६९ करोड रुपैयाँ आर्थिक सहयोगमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन निर्माण कार्य सुरु गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले मंगलबार संयुक्त रुपमा पुस्तकालय निर्माण स्थलको भूमिपुजा गरेका हुन् । 

भूमिपुजा कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ अधिकारी, दूतावासका प्रतिनिधि, केन्द्रीय परियोजना कार्यान्वयन इकाई लगायत अन्य सरोकारवालाको उपस्थिति रहेको थियो । 

सो अवसरमा उक्त परियोजनाको कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भारतीय राजदूतावासबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी पुनर्निर्माण मापदण्ड अनुरुप ३१.६९ करोडको लागतमा पुस्तकालयको निर्माण हुने काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । 

‘यसरी निर्माण हुने नयाँ तीन तल्ले भवनमा आधुनिक सुविधा लगायत अतिरिक्त सुविधा सहितको विभिन्न प्राज्ञिक शाखाहरु हुनेछन् ।  भूकम्प प्रतिरोधी पुनर्निर्माणको क्षेत्रमा काम गर्ने भारतको प्रमुख संस्था केन्द्रिय भवन अनुसन्धान संस्थान (सीबीआरआइ) ले पुस्तकालयको निर्माणका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ,’ दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । 

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले नेपाललाई २५ करोड अमेरिकी डलर अनुदान प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो । सो रकममध्ये ५ करोड अमेरिकी डलर शिक्षाको क्षेत्रमा खर्च हुनेछ । 

भारतीय सहयोगमा हाल नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको निर्माण भइरहेको छ । यीमध्ये १४ वटाको निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने बाँकीको निर्माण कार्य अघि बढिरहेको छ । 

हालको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवन सन् १९६७ मा भारत सरकारको सहयोगमा निर्माण भएको थियो । त्रिभुवन विश्वविद्यालयस्थित गान्धी भवनको निर्माण पनि भारत सरकारको सहयोगमा सन् १९७३ मा भएको थियो ।

Leave a Reply