सुनसरी, १ कार्तिक। जिल्ला अस्पताल इनरुवामा कार्यरत डाक्टर तुसार झासहितका स्वास्थ्यकर्मीलाई आक्रमण र कुटपिट गर्ने प्रहरी निरीक्षकलाई कार्बाही सिफारीस गरिएको छ ।
सुनसरी सदरमुकाम इनरुवामा शुक्रबार प्रमुख जिल्ला अधिकारीसहितको सर्वपक्षीय बैठकले प्रहरी निरीक्षक सन्तोष पोखरेललाई कारबाहीको लागि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रमाण कागजातसहित पठाउने निर्णय गरेको हो ।
इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता र प्रमुख जिल्ला अधिकारी पराजुलीको पहलमा भएको सर्वपक्षीय बैठकमा सुरक्षाका लागि अस्पतालमा नगर प्रहरी खटाउनेलगायत सहमति भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कटुवालले जानकारी दिए ।
बिहीबार साँझ बिराटनगरबाट इनरुवातर्फ आउँदै गरेको को. १ च ७०३३ नम्बरको एम्बुलेन्सको ठक्करबाट जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा रामचन्द्र भट्टराईको मृत्यु भएको विषयलाई लिएर अस्पताल र डाक्टरमाथि आक्रमण भएपछि डाक्टरहरु आन्दोलित भएका थिए ।