हेटौँडा अस्पतालका ७८ चिकित्सकहरूको सामूहिक राजीनामा | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८०, बिहीबार

हेटौँडा अस्पतालका ७८ चिकित्सकहरूको सामूहिक राजीनामा

काठमाडौं, २९ भदौ । हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन् । चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै हेटौँडाका चिकित्सकहरूले अस्पताल तथा निजी क्लिनिकहरूको आकस्मिक बाहेक सबै सेवा बन्द गरेका हुन् । हेटौँडा अस्पतालको आकस्मिक र फार्मेसी सेवा सञ्चालनमा छ भने ओपिडी, बिरामी भर्न, ल्याब लगायतका सेवा बन्द छ । यसैबीच हेटौँडा अस्पतालका ७८ चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन् । उनिहरुले चिकित्सकमाथि कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा दिएका हुन् । राजिनामा पत्र अझैसम्म प्रमुख जिल्ला अधिकार समक्ष नपठाएको बताइएको छ ।

बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मै चिकित्सकमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन् । एक महिनाअघि मृत्यु भएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी बुधबार डाक्टरमाथि कुटपिट गरेका हन् । घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अनुप प्रधान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Leave a Reply