पाँच दिनदेखि जिल्ला अस्पताल डोटी डाक्टरविहीन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पाँच दिनदेखि जिल्ला अस्पताल डोटी डाक्टरविहीन

डोटी, १५ फागुन । सुरक्षाको कारण देखाउँदै सबै चिकित्सकले जिल्ला छोडेपछि पाँच दिनदेखि जिल्ला अस्पताल डोटीमा उपचार सेवा ठप्प भएको छ । फागुन ६ गते डा.जितेन्द्र सिंहमाथि बिरामीका आफन्तले कुटपिट गरेपछि चिकित्सकले जिल्ला छाडेका हुन् । दोषीमाथि कारबाही र सुरक्षाको माग गर्दै जिल्ला अस्पतालका डा. विवश पराजुली, डा. जितेन्द सिंह, सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रका डा. राजकुमार विश्वकर्मासहितका चिकित्सकले जिल्ला छोडेका हुन् । डाक्टरहरूले जिल्ला छाडेपछि जिल्ला अस्पतालमा उपचार सेवा ठप्प भएको छ ।

डा.सिंहमाथि कुटपिट भएपछि नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै चिकित्सकहरूलाई जिल्ला छोड्न आग्रह गरेको थियो । कुटपिटमा संलग्न दीपायल सिलगढी नगरपालिका–७ का हिक्मत सिंह विष्ट, विजय विष्ट, टेकबहादुर विष्ट र दिपायल सिलगढी–६ का अरुण महतलाई प्रहरीले पक्राउ गरेको छ । चिकित्सक संघले दोषीमाथि कडा कारबाही गर्न माग गरेको । कुटपिटमा संलग्नलाई प्रहरीले सार्वजनिक अपराध मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको छ ।

सबै अस्पतालको ओपिडी सेवा ठप्प
डाक्टर नहुँदा जिल्लाका सबै अस्पतालको ओपिडी सेवासमेत प्रभावित भएको छ । जिल्ला अस्पताल, सुजङ अस्पताल, शैलेश्वरी अस्पताल, शिखर पोलिक्लिनिकलगायत जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रसमेत डाक्टरविहीन भएका छन् । आफूमाथि आक्रमण भएपछि असुरक्षित महसुस गरेर जिल्ला छाडेको डाक्टर जितेन्द्र सिंहले बताए ।

‘काम गरिरहेका वेला आक्रमण भयो । आक्रमणपछि पनि निरन्तर धम्की आइरहेको छ, डा.सिंहले भने, नेपाल मेडिकल एसोसिएसन तथा सरकारी चिकित्सक संघले असुरक्षित अवस्थामा काम नगर्नु भनेपछि डोटी छाडेको हुँ । उनले सुरक्षाको ग्यारेन्टी र दोषीमाथि कडा कारबाही नभएसम्म काममा नफर्कने बताए ।

डाक्टर पठाउन माग
आइतबार बसेको सर्वपक्षीय बैठकले डोटी जिल्लामा तत्काल चिकित्सक पठाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ । सरकारी र निजी दुवैतर्फका सबै चिकित्सकले जिल्ला छोड्दा नागरिकको स्वास्थ्यमा समस्या हुने भन्दै सर्वदलीय बैठकले तत्काल चिकित्सक पठाउन आग्रह गरेको हो । बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, नागरिक समाजका अगुवा, स्वास्थ्यकर्मी, पत्रकारलगायतको सहभागिता थियो ।

पोस्टमार्टम गर्न अर्को जिल्ला
जिल्ला अस्पतालमा डाक्टर नभएपछि परीक्षण गर्नुपर्ने शव डडेल्धुरा पठाउन थालिएको छ । शव परीक्षणका लागि अर्को जिल्लामा लैजानुपर्दा समस्या भएको डोटीका डिएसपी शिवबहादुर सिंहले बताए । ‘शुक्रबार र शनिबार दुईवटा झुण्डिएका शव डडेल्धुरा लग्यौँ,’ उनले भने, ‘जिल्ला अस्पतालमा डाक्टर नहुँदा पोस्टमार्टम पनि बाहिरी जिल्लामा गर्नुपर्ने अवस्था आयो । घटनाको अनुसन्धान गर्नसमेत समस्या भइरहेको छ ।’

डाक्टर नहुँदा जिल्ला अस्पताल डोटी अहिले एचएको भरमा सञ्चालन भइरहेको छ । एचए तथा सिएमएले आपत्कालीन बिरामीको सामान्य चेकजाँच गर्नेबाहेका अन्य चिकित्सकीय सेवा ठप्प हुँदा बिरामीले स्वास्थ्य सेवा पाउन सकेका छैनन् । ‘जिल्लामा डाक्टर नहुँदा सामान्य स्वास्थ्य परामर्शबाहेक ठूला उपचार हुन सकेको छैन, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सतिश विष्टले भने, ‘पोस्टमार्टम, भिडियो एक्सरेलगायतका चिकित्सकीय सेवा रोकिएको छ ।’

यो खबर आजको नयाँ पत्रीकामा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);