१३ दिनदेखि अस्पताल ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

१३ दिनदेखि अस्पताल ठप्प

डोटी, १९ फागुन । सरकारी चिकित्सकहरूले कुटपिटको विरोध गर्दै १३ दिनदेखि जिल्ला अस्पताललगायत स्वास्थ्य संस्था ठप्प पारेका छन् । फागुन ६ गते जिल्ला अस्पतालमा कार्यरत डा. जितेन्द्र सिंहमाथि कुटपिटको विरोधमा मेडिकल सुपरिटेन्डेन्टसहित चिकित्सकहरूले काम गर्ने वातावरण नभएको भन्दै जिल्ला छाडेका हुन् ।

जिल्लाका डाक्टरहरूलाई सरकारी चिकित्सक संघले असुरक्षाको कारण देखाउँदै जिल्ला छाड्न भन्दै काठमाडौं आउन निर्देशन दिएको छ । जिल्ला छाडी गएका डाक्टरहरूलाई स्वास्थ्य मन्त्रालयले एक महिनाको काज दिएर मन्त्रालयमै हाजिर गराइरहेको छ । चिकित्सक नभएपछि डोटीमा उपचार सेवा ठप्प छ । माग न्यायोचित भए पनि लामो समय उपचारमा नफर्केको प्रति भने असन्तुष्टि बढ्दै गएको छ ।

डाक्टरहरूले भनेझै जिल्लामा काम गर्ने वातावरण नरहेको आरोपको भने प्रजिअ सूर्यबहादुर खत्रीले खण्डन गरेका छन् । ‘डाक्टरहरूको काम गर्ने मनसाय नभएको हो कि ? सुरक्षा नै नभएको हो भन्ने कुरा महत्त्वपूर्ण छ,’ उनले भने, ‘यहाँ त असुरक्षा भयो भनेर डाक्टरहरू काठमाडौं झिकाइए । काठमाडौंमै त्यस्ता कैयौं घटना भइरहेका छन्, त्यहाँका असुरक्षित डाक्टरलाई चिकित्सक संघले कहाँ लगेर सुरक्षित राख्ने गरेको छ त ?’ स्थानीय प्रशासनले दोषीलाई हिरासतमा लिएर मुद्दाको अनुसन्धान गरिरहेको भन्दै मन्त्रालयले पनि कर्मचारीहरूको मात्रै कुरा नसुनेर उपचार सेवामा पनि ध्यान दिनुपर्ने खत्रीले बताए ।

जिल्ला स्वास्थ्य प्रमुख सतीश विष्टले पनि उपचार नपाएर बिरामी छटपटिरहेका बेला डाक्टरहरूले जिल्ला फर्कन उचित हुने बताए । ‘कुटपिटमा परेका डाक्टरमाथि उल्टै लाञ्छना लगाउने काम हुन थालेपछि उहाँहरूले जिल्ला छाड्नुभएको हो,’ विष्टले भने, ‘तर कारबाहीको प्रक्रिया अघि बढिरहेको अवस्थामा मन्त्रालयमै काजमा बसेर पनि हुन्न । उहाँहरूले बिरामीलाई सम्झेर पनि फर्कनुपर्छ ।’

कुटपिटमा संलग्न आरोपमा दिपायल सिलगढी नगरपालिका ७ का हिक्मतसिंह विष्ट, विजय विष्ट, टेकबहादुर विष्ट र सिलगढी ६ का अरुण महत प्रहरी हिरासतमा छन् । उनीहरूमाथि सार्वजनिक अपराध मुद्दा चलाइएको छ । डाक्टर सिंहलाई कोठाको ढोकै तोडेर उनीहरूले आक्रमण गरेको आरोप छ ।

अस्पतालमा आकस्मिकबाहेक सबै सेवा ठप्प छन् । पोस्टमार्टम, ल्याब परीक्षण, भिडियो एक्सरे नहुँदा सामान्य रोगका बिरामी उपचारका लागि अन्यत्र जानुपर्छ । चिकित्सकले सेवा ठप्प पारी जिल्ला छोडेपछि पोस्टमार्टमका लागि डडेल्धुरा पठाउनुपर्ने बाध्यता छ । डाक्टर अभावमा भएका घटनाबारे अनुसन्धानमा समस्या भइरहेको डीएसपी शिवबहादुर सिंहले बताए ।

जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विवश पराजुली, डा. जितेन्द्र सिंह र सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रका डा. राजकुमार विश्वकर्माले जिल्ला छाडेका हुन् । जिल्ला अस्पतालमा निक साइमन नामक संस्थामार्फत काम गरिरहेका डाक्टर गिरीश अवस्थी पनि जिल्लामा छैनन् । चिकित्सक संघकै निर्णयअनुसार जिल्लाबाहिर रहन भनिए पनि डाक्टर अवस्थीलाई तत्कालै डयुटीमा खटाउन लागिएको निक साइमनका कार्यक्रम संयोजक प्रशान्त शाहीले जानकारी दिए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);