सडक निर्माणमा रारा राष्ट्रिय निकुञ्ज बाधक  | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

सडक निर्माणमा रारा राष्ट्रिय निकुञ्ज बाधक 

मुगु। मुगु सदरमुकाम गमगढी बजारदेखि खत्याड गाउँपालिका जोड्ने सडक निर्माणको काम रारा राष्ट्रिय निकुञ्ज बाधक बनेको छ । गाउँपालिकाको सेरी हुँदै राराताल नजिकको माझघट्ट जोड्ने सडक निर्माण नहुँदा खत्याड वासी एक दिन पैदल हिँडेर सदरमुकाम आवतजावत गर्न बाध्य भएका छन।
गमगढीदेखि राराको माथिल्लो मिलीचौरसम्मको १६ किलोमिटर सडक निर्माणको काम भने सकिएको छ । गत वर्ष गाउँपालिकाले प्रारम्भिक रूपमा वातावरणीय प्रभाव मुल्यांकनसमेत गरेर निर्माणका लागि अनुमति मागेको थियो । तर, निकुञ्जले अनुमति नदिएपछि सडक निर्माणको काम अवरुद्ध बनेको हो । निकुञ्ज क्षेत्रमा सडक नबन्दा खत्याडवासीलाई जुम्लाको गोठीज्युला भएर गमगढी पुग्नुपर्ने बाध्यता छ । यो यात्रा तय गर्न एक दिन पूरै लाग्छ ।

त्यसैले स्थानीयवासी पैदलै हिँडेर आउजाउ गर्ने खत्याड–८ का जन्मजय भण्डारीले बताए । उनका अनुसार निकुञ्जबाट सडक खनिएमा करिब ५ घण्टामै सदरमुकाम पुग्न सकिन्छ । खत्याड गाउँपालिकादेखि निकुञ्जसम्म जोड्ने ग्राभेल सडक निर्माण भइसकेकाले पनि निकुञ्जले अनुमति दिनुपर्ने उनले बताए ।

“निकुञ्जबाट हामीले सेवासुविधा केही पाएनौं, खालि दुःख मात्रै पाइरहेका छौं,” उनले भने, “निकुञ्जले सडक छेकेर हामीलाई धेरै सास्ती दिएको छ ।” सडक निर्माण रोकिएपछि खत्याड, हयाङलु, सुकाढिक, रातापानी, बिना, रिघा लगायत बस्तीका स्थानीय हिँडेरै सदरमुकाम आउन बाध्य छन् । सडक नबन्दा बिरामीलाई स्ट्रेचरमा बोकेर जिल्ला अस्पताल ल्याउनुपर्ने बाध्यता छ । जिल्ला अस्पताल टाढा हुँदा अधिकांश बिरामी उपचारका लागि बाजुराको कोल्टी जाने गरेका छन् । निकुञ्जको बाटो भएर सदमुकाम आउँदा वन्यजन्तुले आक्रमण गर्ने जोखिम रहेको स्थानीय कमानबहादुर रावतले बताए । उतातिर पनि खत्याडको गम्थादेखि निगालबोट हुँदै समानेसम्मको सडक बनिसकेको भए पनि निकुञ्ज क्षेत्रको १७ किमिमा सडक खन्न समस्या भएको खत्याड गाउँपालिकाका उपप्रमुख सरिता रोकायाले बताइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);