अस्ट्रेलियाको मुख्य भूमिमा पहिलोपटक एच फाइभ एन वान बर्डफ्लु सङ्क्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

अस्ट्रेलियाको मुख्य भूमिमा पहिलोपटक एच फाइभ एन वान बर्डफ्लु सङ्क्रमण पुष्टि

अस्ट्रेलिया सरकारले देशको मुख्य भूमिमा पहिलोपटक अति सङ्क्रामक मानिने एच फाइभ एन वान प्रजातिको बर्डफ्लु फेला परेको पुष्टि गरेको छ । पश्चिमी अस्ट्रेलियाको एक राष्ट्रिय निकुञ्जमा भेटिएको फिरन्ते चरामा सो भाइरस पुष्टि भएको हो । अस्ट्रेलियाकी कृषि, मत्स्यपालन तथा वन मन्त्री जुली कोलिन्सले शनिवार क्यानबेरामा सञ्चारकर्मीहरूसँग बोल्दै अस्ट्रेलियन सेन्टर फर डिजिज प्रिपर्डनेसको परीक्षणले उक्त तथ्य पुष्टि गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार गत जुन १४ मा दक्षिणी पश्चिमी अस्ट्रेलियाको राष्ट्रिय निकुञ्जमा मृत फेला परेको ब्राउन स्कुआ नामक समुन्द्री चरामा सो भाइरस भेटिएको थियो । सन् २०२० देखि विश्वभर फैलिएको र लाखौँको सङ्ख्यामा चराचुरुङ्गी तथा अन्य जनावरहरूको मृत्युको कारण बनेको यो घातक भाइरस अस्ट्रेलियाको मुख्य भूमिमा देखिएको यो पहिलो घटना हो । सङ्क्रमण पुष्टि भएसँगै अस्ट्रेलिया सरकारले सम्भावित महामारीको पूर्वतयारीका लागि ११ करोड ३० लाख अस्ट्रेलियन डलर (करिव ७ करोड ९२ लाख अमेरिकी डलर) बजेट विनियोजन गरेको छ ।
यसैगरी, सोही क्षेत्र नजिकै गत बिहीवार बिरामी अवस्थामा भेटिएको जायन्ट पेट्रेल प्रजातिको अर्को चरालाई क्वारेन्टाइनमा राखिएको छ । अस्ट्रेलियाकी प्रमुख पशु चिकित्सा अधिकारी बेथ कुकसनले सर्वसाधारणलाई बिरामी वा मृत चराहरूको सम्पर्कमा नआउन र त्यस्तो अवस्था देखिएमा तत्काल पशु रोग सम्बन्धी हटलाइनमा जानकारी गराउन आग्रह गर्नुभएको छ ।  सङ्कटापन्न प्रजाति सम्बन्धी आयुक्त फियोना फ्रेजरले यो भाइरस अस्ट्रेलियाका अन्य पक्षी समूहमा फैलिएको छ वा छैन भन्ने विषय केही दिनभित्रै स्पष्ट हुने जानकारी दिनुभयो । अधिकारीहरूले यसको रोकथाम र निगरानीका लागि उच्च सतर्कता अपनाइएको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार