माइक्रोमा सहचालकद्वारा बालिका बलात्कार प्रयास, कुटपिटबाट चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माइक्रोमा सहचालकद्वारा बालिका बलात्कार प्रयास, कुटपिटबाट चालकको मृत्यु

rape

इलाम । कुटपिटपछि घाइते भएका माइक्रोबस (हायस) का चालकको चार दिनपछि ज्यान गएको छ । २० वैशाखमा कुटपिटपछि घाइते भएका नुवाकोटको तारकेश्वर गाउँपालिका–२, बगुवाका २१ वर्षीय दीपक ढुङ्गनाको शनिबार झापाको विएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी काठमाडौं–इलामको माइक्रो बसका चालक थिए । २० वैशाको साँझ उनीमाथि कुटपिट भएको थियो ।

कुटपिटपछि गम्भीर घाइते उनलाई उपचारका लागि इलाम अस्पताल ल्याइएको थियो । थप उपचारको लागि उनलाई झापा रेफर गरिएको थियो । बिएन्डसीमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार यात्रुसहितको बा ५ ख ५९८२ नम्बरको माइक्रोबस काठमाडौंबाट इलाम आएपछि साँझ अन्य यात्रुलाई ओरालेर चालक ढुंगाना गाडीबाहिर निस्केका थिए । माइक्रोमा १७ वर्षीया बालिका पछाडिपट्टिको सिटमा थिइन् । उनी रातिको समय भएकाले आफ्ना अभिभावकलाई आफूलाई लिन बोलाएर गाडीमै बसेकी थिइन् ।

त्यसै मौकामा गाडीका सहचालक नुवाकोटको बेलकोट–१३ का विनय वाग्लेले ती बालिकालाई  हातपात र जबरजस्तीको प्रयास गरेको प्रहरीले बताएको छ । ‘हातपात प्रयास गर्दागर्दै बालिकाका अभिभावक त्यहाँ पुगेपछि वाग्ले भागेछन्,’ जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी महेन्द्र श्रेष्ठले भने, ‘सहचालक भागेका बेला चालक ढुंगाना त्यहीं आइपुगेकाले उनीमाथि चाहिँ आक्रमण र कुटपिट भएको देखिन्छ ।’

चलकको मृत्यु भएपछि उनलाई कुटपिट गर्ने इलाम नगरपालिका–६ का प्रेमप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ । उनीबिरुद्ध चालकको परिवारले कर्तब्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरेका छन् । सहचालक वाग्लेलाई भने प्रहरीले घटना भएकै दिन पक्राउ गरेको थियो । उनीबिरुद्ध जवरजस्ती करणी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

यातायात व्यवसायीआवद्ध विभिन्न संघ–संगठनले विज्ञप्ति जारी गरी यातायातका साधनमा कार्यरत श्रमिकको सुरक्षा माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।

यी संगठनले मृतक चालकको उपचारमा भएको खर्च, उनका परिवारको पालनपोषणलगायतको उचित व्यवस्थाको ग्यारेन्टी नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।

मृतकको शव अस्पतालमानै छ । उपचारमा लागेको खर्च तिर्न समस्या भएपछि शवाको पोष्टमार्टम भएको छैन । उनको उपचारमा पाँच लाख रुपैयाँ खर्च भएको छ । त्यो रकम पनि कसले तिर्ने भन्ने समस्या छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);