आफ्ना लागि बनाइदिएकाे बस्तीमा बस्न मानेनन् मुसहर समुदाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आफ्ना लागि बनाइदिएकाे बस्तीमा बस्न मानेनन् मुसहर समुदाय

सुनसरी । तस्बिरमा देखिएको संरचना इटहरी उपमहानगरले वटा नम्बर १६ मा तयार गरेको मुसहर समुदायको बस्ती हो । यो बस्तीमा खानेपानी, ट्वाइलेट, चिल्ड्रेन पार्क, सामुदायिक भवन र दिनाभद्रिको मन्दिरसमेत निर्माण गरिएको छ । करिब एक करोड २३ लाख खर्च गरेर यी १५ वटा संरचना तयार गरेको हो ।

बहुबर्षीय सडकअन्तर्गत सडक आसपास छाप्रो हालेर बसेका इटहरी-१७ का मुसहर घरपरिवारलाई व्यवस्थित गर्न स्थानीय सरकारले यो बस्ती निर्माण गरेको हो । नेपाल सरकारको तराई मधेस समृद्धि कार्यक्रमको ९० प्रतिशत र इटहरी उपमहानगरको १० प्रतिशत लगानीमा तयार गरिएको थियो । तर यी संरचना दुई वर्षदेखि खाली छन् ।

निर्माण कार्य सके पनि मुसहर समुदायका परिवार यहाँ बस्न मानेका छैनन् । मुसहर समुदायका काम गर्ने महिला, पुरुषलाई उपमहानगरले साइकलसमेत वितरण गर्ने तयारी गरेको थियो । स्थानीय सरकारले नसोधी घर बनाएको तथा काम गर्ने कम्पनीसम्म पुग्न टाढा हुने भन्दै उनीहरू यहाँ जान मानेका छैनन् । 

आफ्नो बाउबाजे यहीँ जन्मेर यहीँ मृत्यु भएको भन्दै बाउबाजे बसेको ठाउँ छाड्न नमानेको स्थानीय हेलनदेवी ऋषिले बताइन् । उनले आफूहरूलाई सरकारले घर निर्माण गर्नुअघि सल्लाह नगरेकोसमेत बताइन् । उनले गाईवस्तु जस्तो जतिबेला पनि आफ्नो ठाउँ छोड्न नसक्ने, अहिले बसेकै ठाउँमा व्यवस्थित गर्नसमेत आग्रह गरिन् । 

त्यस्तै भुटिऋषि देव पनि आफ्नो परिवार नयाँ घरमा जान नमानेको बताउँछिन् । सबै छोरा मान्छे सागर फिड्स कम्पनीमा ज्यालादारमा काम गर्ने भएकाले नयाँ घरबाट टाढा र अपायक भएको उनकाे भनाइ छ । उनले सडकले ओगट्ने क्षेत्रबाट बचेको जग्गामा छाप्रो हालेर बस्ने तर सरकारले बनाएको नयाँ घरमा नजाने तर्क गरिन् ।

‘हामी यो ठाउँका ३० देखि ४० जना महिला पुरुष सागर फिड्समा काम गर्छौ । यहाँबाट नजिक पर्छ, तर नयाँ घरबाट दुई किलोमिटर टाढा पर्छ,’ चम्रु ऋषिदेवले भने, ‘सरकारले साइकल दिन्छु भनेको छ तर साइकलले राति महिलालाई घर जान समस्या पर्छ । कहिले साइकल बिग्रिन्छ । हामी यहाँबाट जाँदैनौं ।’ स्थानीय सरकारले घर निर्माणभन्दा पनि सुरुमै सल्लाह मागेको भए केही उपाय लगाउन सकिने तर अन्तिम अवस्थामा जानकारी गराएकाे नयाँ ठाउँमा जान नसकिने चम्रुको भनाइ छ । 

करोडौँ खर्च गरेर निर्माण गरेको संरचनामा मुसहर समुदाय नै बस्न नमानेपछि स्थानीय सरकारको बहुवर्षे सडकसमेत अन्योलमा परेको छ । सडक किनारामा बसेका मुसहरलाई नयाँ बस्तीमा सार्ने योजना फेल भएपछि सडक विस्तार कसरी गर्ने र ती संरचनालाई कसरी व्यवस्थित गर्ने भन्ने इटहरी उपमहानरपालिका अलमलमा छ । 

मुसहर बस्तीको परिवार बस्न नमानेपछि वडा नम्बर १६ का अध्यक्ष दीपनारायण चौधरीको संयोजकत्वमा तीन सदस्यीय टोलीसमेत बनाएको छ । उक्त टोलीले तयार गरेको प्रतिवेदनका आधारमा इटहरीभित्रका अति विपन्न तथा लक्षित समुदायका परिवारलाई राख्ने तयारी भएको इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले जानकारी दिए । उनले जुन वर्गका स्थानीयको घर छैन, उनीहरूलाई लगेर राख्ने तयारी भइरहेकोसमेत बताए । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);