मनाङका बाढीपीडितले घर बनाउन साढे पाँच महिनापछि पाए अनुदान | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मनाङका बाढीपीडितले घर बनाउन साढे पाँच महिनापछि पाए अनुदान

लमजुङ । मनाङका बाढीपीडितलाई साढे पाँच महिनापछि २ लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ । गण्डकी प्रदेश सरकारले २ लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराएको हो । पूर्ण क्षतिको सूचीमा परेका तालगाउका २२ घरधुरीलाई प्रदेश अर्थमन्त्री रामजी बरालले केही दिन अघि धारापानीमा आएर २/२ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार प्रदेश सरकारबाट ७४ लाभग्राहीका लागि १ करोड ४८ लाख रुपैयाँ बजेट आएको थियो । प्रदेश विपद् व्यवस्थापन नियमावलीअनुसार १ लाख रुपैयाँ र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप १ लाख गरी २ लाख रुपैयाँ आएको उनले बताए ।

उनका अनुसार यो रकम निजी आवास पुनर्निर्माणका लागि हो । संघ सरकार र स्थानीय सरकारको रकम आउन बाँकी रहेको उनले बताए । मन्त्री बरालले भने विशेष प्याकेजका रूपमा बाढीपीडितलाई उक्त रकम प्रदान गरिएको बताए ।

नासों गाउँपालिका १ का अध्यक्ष झलकबहादुर गुरुङका गाउँपालिकाभित्रका ८२ घरधुरीमा बाढीपहिरोले क्षति पुर्‍याएकाे थियाे।  यसमा पूर्ण क्षति भएका ४४ घर छन् । आंशिक क्षति तर उच्च जोखिमका १५ घर छन् । आंशिक क्षति न्यून जोखिमका २३ घर छन् । उनका अनुसार वडा १ को तालमा मात्रै ५८ घरमा क्षति पुगेकोमा २३ घरमा पूर्ण क्षति छ ।

नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले गाउँपालिकाभित्र पूर्ण क्षति पुगेका लाभग्राहीको संख्या ४४ जना रहेकोमा ३९ जनाले २ लाख रुपैयाँका दरले राहत पाएको बताए । ५ जनाको भने केही कागजात अपुग भएको भन्दै नपाएको उनले बताए । उनका अनुसार क्षति भएको ठाउँमा टालटुल गर्न, अस्थायी टहरा बनाउन भन्दै उक्त रकम बाढीपीडितलाई प्रदान गरीएको हो । मनाङमा पुनर्निर्माणका लागि केन्द्रले ६० प्रतिशत, प्रदेशले ३० प्रतिशत र स्थानीय तहले १० प्रतिशत रकम उपलब्ध गराउनेछन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);