सवारी नै नजाँची पैसामा बेचिन्छ हरियो स्टिकर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सवारी नै नजाँची पैसामा बेचिन्छ हरियो स्टिकर

काठमाडौं, २० कात्तिक । सेवाग्राहीले झ्यालबाट ब्लुबुक दिए । भित्रका कर्मचारीले अन्कनाउँदै सोधे, ‘के हो यस्तो ? ’‘कुरा फेर्न पाइँदैन है ? ’ सेवाग्राहीले हाँस्दै जवाफ दिए ।प्रदूषण जाँचपास गर्न गाडी ल्याइएको थिएन तर ती सेवाग्राहीले हरियो स्टिकर लिएर गए । पछिल्तिर हातमा १५ वटाभन्दा बढी ब्लुबुक बोकेर स्टिकर लिन अर्का सेवाग्राही लाममा थिए ।

यो यातायात व्यवस्था कार्यालय (साना ठूला सवारी) एकान्तकुनामा आइतबार ११ बजे देखिएको दृश्य हो । विभागले सवारीसाधनलाई वातावरणमैत्री बनाउन अनिवार्य गरेको हरियो स्टिकर वितरणमा यस्तो सेटिङ चल्दै आएको छ ।

कार्यालयको झ्यालबाट मात्रै होइन, व्यवसायी र गाडी मालिकसँग मिलेर कर्मचारीले हरियो स्टिकर घरघरै पुर्‍याइदिने गरेका छन् । यसले गर्दा उपत्यकाको वायु प्रदूषणले सीमा नाघेको छ ।

उपत्यकाको वायुमा पीएम १ र २.५ माइक्रोनभन्दा साना धुलोका कण बढी रहेको पाइएको छ । यसमा सवारीसाधन नै जिम्मेवार हुने अध्ययनले देखाएको छ । वातावरण विभागका सिनियर डिभिजन केमिस्ट शंकरप्रसाद पौडेलले वायु प्रदूषणको ६० प्रतिशत हिस्सा सडकको धुलो र सवारीसाधनको धुँवाले ओगटेको बताए । ‘सवारी प्रदूषण नियन्त्रण नहुनु नै मुख्य कारण हो’, उनले थपे । लाखौं संख्यामा गुड्ने दुईपांग्रे सवारीसाधनको प्रदूषण मापन आजसम्म हुन सकेको छैन ।

प्रदूषण फेल हुँदा पनि चलखेल

एउटा गाडीमा प्रदूषण मापनका लागि मेसिन लगाइयो, पेट्रोल इन्जिनले वातावरण प्रदूषित मापदण्ड पार गरेको देखियो । गाडीवालाले कागजातसहित झ्यालमा पुगेर ‘मिलाइदिनुस् न’ भने । ‘कुरा मिलेपछि’ कर्मचारीले उनको गाडीलाई हरियो स्टिकर दिन सिफारिस गरे ।

अर्को गाडीको प्रदूषण जाँच गर्दा मेसिनमा मापदण्ड हेर्ने कोही थिएन । कर्मचारीले बाहिरबाटै हस्ताक्षर गरी हरियो स्टिकरका लागि सिफारिस गरे । यस्ता अनेक दृश्य आइतबार एकान्तकुनामा देखिए ।

यातायात व्यवस्था विभागले ०५६ सालदेखि सवारीसाधनलाई वातावरणमैत्री बनाउन हरियो स्टिकर वितरण गर्दै आए पनि त्यसमा कर्मचारी तहबाटै इमानदारी देखिएको छैन । हाल यातायात व्यवस्था कार्यालय (साना ठूला सवारी) एकान्तकुना, यातायात व्यवस्था सेवा कार्यालय सानोभर्‍याङ र सवारी परीक्षण कार्यालय टेकुबाट सवारी प्रदूषण जाँचपास हुँदै आएको छ भने भक्तपुरमा मेसिन जडान नै गरिएको छैन ।

छेटु शेर्पाले आजको अन्नपूर्णपोष्टमा खबर लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);