काठमाडौं । एउटा लोकोक्ति छ– मरेको वर्षको शोक, छुट्टिएको वर्षको रिस । गत २८ भदौसम्म एउटै दलमा रहेका केपी शर्मा ओली र माधव नेपाल यतिवेला बेग्लाबेग्लै पार्टीको नेतृत्वमा छन् ।
नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेका नेता नेपाल यतिबेला संगठन बिस्तार अभियानमा छन् भने एमाले अध्यक्ष ओली महाधिवेशनको चटारोमा । अभियान र चटारोका बीचमा यी दुई नेता जब भाषणका लागि मञ्चमा पुग्छन्, एकअर्कावि?द्ध अभियोग र गालीमै आधा भाषण सकाउँछन् ।
पार्टी फुटेपछि (भदौ)यताका हरेक भाषणमा एकले अर्कालाई गद्दार घोषणा गर्नेदेखि लिएर कम्युनिष्ट नामको कलंकसम्म भन्न भ्याएका छन् । तर, पछिल्ला दिन भने यि दुई नेताको व्यक्तिकेन्द्रीत झगडा एकअर्कालाई बहिष्कार गर्ने अभियानसम्ममा पुगेको छ ।
बहिष्कार अभियानको फायर भने एमाले प्रचार विभाग प्रमुखसमेत रहेका सचिव योगेश भट्टराईले खोले । १७ कात्तिकमा काठमाडौंमा महाधिवेशन प्रचार अभियानबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले नेकपा (एस)लाई ठेगाना नभएको र अवैध गर्भधारणबाट जन्मिएको पार्टी भन्दै महाधिवेशन उद्घाटनमा नबोलाउने घोषणा गरे ।
विभाजनअघिसम्म नेपाल खेमामा खुलेका भट्टराईको यो अभिव्यक्तिले एमाले र नेकपा(एस)को राजनीतिक वृत्तमा सनसनी मच्चायो ।
यो भाषणअघिसम्म एकले अर्कालाई बहिष्कार गर्ने विषयमा नसोचेका पार्टीहरू त्यसयता खुलेआम एकअर्कालाई बहिष्कार गर्ने बताइरहेका छन् । नेकपा(एस)ले अलिखित निर्णय ने गर्यो– ओली सहभागी हुने सबै कार्यक्रम बहिष्कार गर्ने । यही नीतिअनुसार नेकपा एमाले मोरङ जिल्ला कमिटीले आयोजना गरेको चियापान कार्यक्रमलाई नेकपा(एस)ले बहिष्कार नै गर्ने घोषणा गरेको छ ।
सो पार्टीका जिल्ला प्रवक्ता ओसिम आलमका अनुसार ओली सहभागी भएका कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णयअनुसार आजको चियापान बहिष्कार गरिएको हो ।
गत १३ कात्तिकमा नेकपा (एस) मोरङले चाडपर्वको अवसरमा आयोजना गरेको चियापानलाई एमालेले समेत बहिष्कार गरेको थियो । एमाले प्रचार विभाग प्रमुख भट्टराई भने नेकपा(एस)का कार्यक्रममा नजाने निर्णय भने नभएको बताउँछन् । उता नेकपा (एस)का प्रवक्ता जगन्नाथ खतिवडा पनि पार्टीले घोषित निर्णय नगरे पनि स्थानीय कमिटीहरूले ओलीलाई बहिष्कार गर्ने रणनीतिमा भने रहेको बताउँछन् ।