महोत्तरीमा कोरोना खोप अभियान फितलो, ५० प्रतिशतले खोप नै लगाएनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

महोत्तरीमा कोरोना खोप अभियान फितलो, ५० प्रतिशतले खोप नै लगाएनन्

कात्तिक । महोत्तरी गौशालाका सुजु सादालाई कोरोना खोप बारे मात्रै होइन कोरोना महामारीका बारेमा समेत जानकारी छैन । साथीहरूले कोरोना बारे कुराकानी गरेको कहिले काही सुने पनि त्यो के हो भनेर उनलाई थाहा नभएको बताए । यो कस्तो रोग हो ? कति प्राणघातक छ ? भन्ने बारे त झन केही नै थाहा छैन ।

कोरोना कै कारण विश्व दुई वर्षदेखि आक्रान्त छ, लाखांै मानिसले ज्यान गुमाए, रोजगारी गुमाए, जीविकोपार्जनको माध्यम शून्य बनेका कारण कयौंले आफ्नो ज्यान समेत गुमाए भन्दा उनी अच्चम मान्छन् । यो बीचमा सादाले पनि समस्याहरू नभोगेको भने होइन । नथापाएरै पनि उनी पटक पटक समस्यामा भने परेका रहेछन् । तर, कोरोना कै कारण समस्या सिर्जना बनेको हो भन्ने उनले हेक्का नभएको बताए । सादालाई कहिलेकाही ज्वरो आयो, रुघाखोकी लाग्यो । हिड्न नसक्दा कयांै दिन सादाले फोहोर बटुल्न पनि सकेनन् । परीक्षण गरेको भए साथीहरूले सुनाए जस्तैं मलाई नि कोरोना देखाउँथ्यो होला कि ? उनले आफैलाई प्रश्न गरे । 

सादालाई रुघाखोकी र ज्वरो आएको केही समयपछि उनको परिवारका सदस्यलाई पनि उस्तै लक्षण देखिन थाल्यो । सादाको परिवारमा मात्र होइन सिंगो मुसहर बस्तीमा ज्वरो फैलियो । तर, सादालाई यि सबै लक्षण र दुखाइमा कुनै वास्ता भएन । बरु उनको एउटै चिन्ता थियो आज खाली बोत्तलहरू कम हुने पो हो कि । 

परिवारप्रतिको जिम्मेवारी र जीविकोपार्जनको बाध्यताले रोगभन्दा पनि भोकसँगको लडाईले सादालाई निरन्तर झकझकाइ रह्यो । जसको कारण न उनले कोभिड–१९ को बिषयका बारेमा थाहा पाए न त कोरोना खोप नै लगाए । 

सरकारले महोत्तरीसहित देशभर कोरोना महामारी रोक्न खोप अभियान सन्चालन गरिरहेको छ । हरेक स्थानीय तहले अहिले वडा वडामा कोरोना खोप लगाइरहेका पनि छन् । तर, सरकारले जुन लक्षप्राप्तिका लागि अभियान चलाएको थियो त्यो पूरा भने हुन भने सकेको छैन । अभियानले सादा जस्ता वर्गलाई छुन सकेको छैन । लक्षित वर्गले अझै खोपको सुविधा लिन सकिरहेका छैनन् । स्थानीय सरकारको ध्यान विपन्न र न्युन आम्दानी हुने समुदायमा नपुग्दा अझै पनि महोत्तरीमा कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बन्न नसकेको स्थानीयको भनाइ छ । 

गौशालाको मुसहर बस्ती मात्रै होइन महोत्तरीका हरेकजसो मुसहर बस्तीमा कोरोनाविरुद्ध खोप लगाउने निकै कम रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ । एड्रा नेपालको तथ्यांकअनुसार प्रदेश २ मा अहिलेसम्म ३३ प्रतिशतले मात्रै दुबै डोज कोरोनाविरुद्धको खोप लिएका छन् । खोपका कारण शारीरिक प्रतिरक्षा प्रणाली राम्रो भएको विभिन्न अध्ययन, अनुसन्धानले प्रमाणित गरिसकेका छन् । कोरोनाबाट बच्ने हो भने खोपको विकल्प नभएको डब्लुएचओ प्रष्टाइ पनि सकेको छ । 

महोत्तरीसहित आसपासका जिल्लामा धार्मिक मान्यता र चेतनाको अभावले पनि खोप लगाउन नमान्ने गरेको स्वास्थ्य क्षेत्रमा रिर्पोटिङ गर्दै आइरहेका अतुल मिश्रको बिश्लेषण छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार अहिले खोप सुविधा नलिनेमा मुस्लिम, शैक्षिक रुपमा पिछडिएका र मुसहरहरू धेरै छन् ।

महोत्तरीमा कतिले खोप लगाए ?
जिल्ला स्वास्थ्य कार्यलय महोत्तरीको तथ्यांकअनुसार अहिलेसम्म महोत्तरीमा ५२.६२५ प्रतिशतले मात्रै खोप लगाएका छन् । स्थानीय सरकारले समय समयमा कोरोना खोप अभियान चलाए पनि त्यसको प्रभावकारिता बढ्न नसक्दा अझै आधा जनसंख्या कोरोना खोपवाट बन्चित छन् । अहिलेसम्म दुई लाख ४८ हजार दुई सय नौ जनाले महोत्तरीमा कोरोना खोप लिएका छन् । जसमध्ये पहिलो डोजमात्र लगाउने ३० प्रतिशत, दोश्रो डोज लगाउने २२ प्रतिशत छन् ।  

जिल्लाको कुल जनसंख्या मध्ये कोभिसिल्ड पहिलो डोज खोप लिने ३२ हजार ८५ जना, भेरोसेल पहिलो खोप लिने ५० हजार ६ सय ६२ जना छन् । यसैगरी कोभिसिल्ड दोश्रो डोज लिने पाँच हजार दुई सय २७ जना, भेरोसेल दोश्रो खोप लिने पाँच हजार नौ सय ९४ जना छन् ।

जोनसन र एस्ट्रोजेनेका खोप भने सबैले एकपटक मात्र लिएका छन् । जसमध्ये जोनसन ३६ हजार तीन सय ७८ जना, एस्ट्रोजेनेका २३ हजार ६ सय ६२ जनाले लिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);