धनेपु र डाँडागाउँबासीको पीडा : भूकम्प प्रतिरोधी घर त बनायौँ, तर पहिरोले छाडेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

धनेपु र डाँडागाउँबासीको पीडा : भूकम्प प्रतिरोधी घर त बनायौँ, तर पहिरोले छाडेन

ओखलढुंगा । सिद्धिचरण नगरपालिका–७ को धनेपु र डाँडागाउँबासीका पीडा सुनिनसक्नुको छ । सदरमुकाम नजिकै रहेको यो गाउँका बासिन्दाले मस्तसँग ननिदाएको वर्षौ भयो । बस्तीभन्दा तल बग्ने पोक्तिङ खोलाको कटानले उनीहरूको घरको आँगन वर्षेनी सर्छ, घरका गाह्रो चर्किन्छ र झ्यालढोका नलाग्ने हुन्छ ।

पोक्तिङ खोलाभन्दा बस्ती निकैमाथि भए पनि वर्षेनीको कटानले सिंगो गाउँ जोखिममा छ । यही समस्याले यहाँका ७० परिवार कहाँ जाने कता जाने अन्योलमा छन् । अधिकांशका घर २०७२ सालको भूकम्पले क्षति पुर्यायो । यहाँका स्थानीयले अनुदान र ऋण खोजेर बल्लतल्ल घर बनाए । तर, दुःखले बनाएको नयाँ घरमा सरेको केही दिनमै घरको जगै सर्न थालेको छ । 

धनेपुकी मिलाकी शेर्पाको घर २०७२ सालको भूकम्पले भत्कियो । अनुदानले नपुगेर ऋण गरेर भूकम्प प्रतिरोधी घर बनाइन् । उनको परिवार नयाँ घरमा सरि नसक्दै घरको जग बग्न थाल्यो । अहिले घर ढल्ने अवस्थामा पुगेको छ ।

उनका छिमेकी गम्बु शेर्पाको कथा पनि फरक छैन । भूकम्पले घर ढलेपछि उनले सरकारी अनुदान चार लाखमा ऋण थपेर सात लाखमा घर निर्माण गरे । पहिलेको घर नजिकै पहिरो आउन थालेपछि अर्कै ठाउँमा घर बनाए । घर बनाएर सरेको एकाध महिना नबित्दै आँगनबाटै जमिन चिरिएर बग्न थाल्यो । उनको घरको आँगन एकवर्षमा दुई फिट बगिसकेको छ । ‘पानी पर्न थालेपछि रातभरि सुत्न सकिदैन नि,’ उनले गहभरि आँसु पार्दै भने । उनी मिस्त्री काम गर्दै परिवार पाल्छन् । घर बनाउँदा लिएको चार लाख ऋण तिर्नै बाँकी छ । गम्बु र मिलाकीले जस्तै यहाँको धनेपु र डाँडागाउँका ७० परिवारले बर्षौंदेखि आनन्दले निदाउन पाएका छैनन् । यो गाउँको उत्तर र दक्षिण दुईतर्फ पहिरो छ । बीचमा रहेका यी दुई गाउँमा दुईवटा आधारभूत विद्यालय पनि जोखिममा परेका छन् ।

यस्तो समस्या वर्षेनी भोग्दै आए पनि सरकारी निकायले चासो दिएको थिएन । थप जोखिम बढेपछि अहिले सिद्धिचरण नगरपालिकाले अनुगमन थालेको छ । अनुगमनमा पुगेका वडाअध्यक्ष बमबहादुर राईले स्थानीयलाई खेतीपाती, पशुपालन गर्ने सबै ठाउँ गाउँमै भएकोले उनीहरूलाई त्यही अनुसारको ठाउँ खोजेर स्थानान्तरण गर्नुपर्ने देखिएको बताए ।

सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले पनि जोखिमका यि बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने वा हाल भईरहेकै स्थानलाई सुरक्षित बनाउन सकिएला भन्ने विषयमा अध्ययनका लागि पहल गर्ने बताए ।

यो बस्तीका ११ परिवार विस्थापित भइसकेका छन् । अन्य केही घर विस्थापित हुने अवस्थामा छन् । उनीहरू आफ्नो घरमा बस्न सकेका छैनन् । भूगर्भविद्हरूलाई ल्याएर अध्ययन गराएर यदि पहिरो नियन्त्रण र जमिन बग्ने समस्या समाधान गर्न सकिने भए त्यहीअनुसार योजना बनाउने जनप्रतिनिधिहरूको प्रतिबद्धता छ । स्थानीयले भने उनीहरूले यसअघि पनि यस्तै प्रतिबद्धता जनाए पनि काम नभएको गुनासो गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);