प्रकोप बन्दै शापु रोग, बालबालिका उच्च जोखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रकोप बन्दै शापु रोग, बालबालिका उच्च जोखिममा

काठमाडौं । दृष्टिनाशक रोग शापु नेपालको मध्य पहाडी भेगमा महामारीको रूपमा देखिएको छ । प्राय वर्षायाममा भदौदेखि मंसिरसम्म यो रोगको संक्रमण हुने गरेको छ । 

मध्य पहाडी क्षेत्रमा हुने यो रोग सेतो पुतलीबाट सर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । धेरैजसो बच्चाहरू यस रोगबाट ग्रसित हुने गरेका छन् । शापु अन्य उमेर समूहका मानिसमा पनि देखिने गरेको छ ।

नेपालमा मात्र हुने यो रोग बच्चाका लागि निकै खतरनाक मानिन्छ । यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ ।यो रोग लागेपछि आँखाभित्रका तीनवटै पत्रलाई असर गर्छ । आँखाको ज्योति नै गुम्ने खालको जटिल प्रकृतिको रोग भएकाले यसले नेपालमा समस्याको रूपमा लिइरहेको छ ।

सेतो पुतली (मोथ)लाई शापु रोगको कारक मानिएको छ । तर, कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका मानिसमा पनि यो रोग देखिने गरेको छ । अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ ।

नेपालमा वि. सं. २०३२ मा देखिएको यो रोग बालबालिकामा बढी मात्रामा देखिने गरेको छ । यो रोग लागेपछि आँखाको ज्योति पुरानो अवस्थामा फर्काउन निकै कठिन हुने नेत्ररोग विशेषज्ञहरूको भनाई छ । बाल अन्धोपनको मुख्य कारण बनेको यो रोगले समाजमा समेत आर्थिक र सामाजिक रूपमा दखल पुर्‍याउने स्थिति छ । यो रोग हरेक वर्ष बिराएर प्रकोपको समस्याका रूपमा देखिएको छ ।

शापु रोगका लक्षणहरू

– एक्कासी एउटा आँखा रातो हुनु

– चिप्रा लाग्नु

– उज्यालोमा हेर्न नसक्नु

– आँखाको दृष्टिमा तत्कालै कमी हुनु

– आँखा दुख्नु

– उपचारमा ढिलो भएमा आँखाको नानी सेतो देखिनु

शापु रोगको रोकथाम

– सेतो पुतलीको संसर्गबाट टाढै रहने

– धेरै उज्यालो बत्ती नबाल्ने

– साँझ र राती झ्याल ढोका बन्द राख्ने

– झ्याल ढोकामा जाली हाल्ने

– सुत्दा बत्ती निभाएर र झुल लगाएर सुत्ने

– आफूखुसी औषधि वा जडीबुटीको प्रयोग नगर्ने

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);