कांग्रेस अधिवेशन : काठमाडौं महानगर सभापतिमा प्रगतिमान र नीलकाजीबीच प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कांग्रेस अधिवेशन : काठमाडौं महानगर सभापतिमा प्रगतिमान र नीलकाजीबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगरगपालिकाको अधिवेशन १६ असोजमा हुँदैछ । यसअघि अन्य जिल्लामा पालिका अधिवेशन भए पनि काठमाडौंमा भने रोकिएको थियो ।

काठमाडौं महानगर सभापति पदका लागि प्रगतिमान रञ्जित र नीलकाजी शाक्यबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । १५ वर्षपछि अधिवेशन हुन लागेको काठमाडौं महानगरमा संस्थापन पक्षबाट शाक्य र इतर पक्षबाट शाक्य चुनावी मैदानमा उत्रँदैछन् ।

११औं महाधिवेशनबाट निर्वाचित महानगर सभापति देवरत्न डंगोलको कार्यकाल सकिएपछि १२औं र १३औं महाधिवेशनका बेला काठमाडौं महानगरको अधिवेशन नै भएन । लामो समयपछि अधिवेशन हुन लागेकाले पनि काठमाडौं महानगरको कांग्रेस नेतृत्वमा प्रतिस्पर्धा कडा हुने आंकलन गरिएको छ । काठमाडौं महानगरमा कांग्रेसका ११ सय ६० प्रतिनिधि छन् । 

संस्थापन पक्षका रञ्जितलाई काठमाडौं जिल्ला सभापतिका दाबेदार उपेन्द्र कार्की, कृष्णप्रसाद सिटौला पक्षका नेता भीमसेनदास प्रधानलगायतको समर्थन छ । इतर पक्षका शाक्यलाई पूर्वमहामन्त्री प्रकाशमान सिंह, काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँ, महानगर मेयरका प्रत्यासी राजुराज जोशीलगायतको समर्थन रहेको बताइन्छ । 

कांग्रेस-कांग्रेसबीचको दूरी घटाउँछु : प्रगतिमान

डेढ दशकसम्म कांग्रेस काठमाडौं महानगरको निर्वचन हुन नसकेकाले पुराना र नयाँ कांग्रेस कार्यकर्ताबीच दूरी बढेको रञ्जितको बुझाइ छ । 

कांग्रेस-कांग्रेसबीचको दूरी घटाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए । ‘१५ वर्षसम्म अधिवेशन हुन नसक्दा महानगरमा कांग्रेसको क्रियाशील संख्या घटेको छ । नयाँ र पुराना नेता कार्यकर्ताबीच दूरी बढेको छ । त्यसलाई अन्त्य गरेर महानगरमा बलियो कांग्रेस बनाउने मेरो पहिलो एजेन्डा हो,’ रञ्जितले न्युज कारखानासँग भने, ‘काठमाडौंमा रैथाने नेवार र बाहिरबाट आउने कांग्रेसीबीचको खाडल पुर्न पनि मेरो सभापतिमा उम्मेदवारी हो ।’ 

महानगर सभापति बनेपछि सबै वडा र नगरकार्यपालिकामा कांग्रेस जिताउने आफ्नो लक्ष्य रहेको उनले बताए। २०४४ मा शंकरदेव क्याम्पसबाट नेविसंघको राजनीति थालेका रञ्जित नेपाल तरुण दलको काठमाडौं महानगरको संस्थापक सभापतिसमेत हुन् । उनी पार्टीको तत्कालीन क्षेत्र नम्बर ४ को सचिव तथा पार्टीको काठमाडौं जिल्ला कार्यसमितिको आमन्त्रित सदस्य बनिसकेका छन् । हाल उनी पार्टीको केन्द्रीय संगठन विभाग सदस्य छन् । लामो समयदेखि पार्टीमा इमान्दार कार्यकर्ता भएर काम गरेको तथा समाजसेवामा सक्रिय भएकाले पनि आफूले सभापतिमा जित्ने उनले दाबी गरे ।  

सशक्त कांग्रेस बनाउन मेरो उम्मेदवारी : नीलकाजी

नीलकाजी काठमाडौं महानगरपालिका-२५ का वडाध्यक्ष हुन् । २०३६ को विद्यार्थी आन्दोलनदेखि सक्रिय राजनीतिमा जोडिएका शाक्य २०४४ सालमा पब्लिक युथ क्याम्पसको स्ववियु सभापति निर्वाचित भएका थिए । नेपाल तरुण दलको संस्थापक केन्द्रीय सदस्य रहेका शाक्यले पार्टीको नयाँ र पुरानो दुवै पुस्ताको भावना समेटेर आफू महानगर नेतृत्वको प्रत्यासी बनेको बताए । 

‘मैले सभापतिमा जित्यो भने काठमाडौं महानगरको नेतृत्वसहित बहुमत वडामा कांग्रेस जिताउनेछु,’ शाक्यले भने, ‘देशकै राजधानी र जेठो महानगर भएकाले काठमाडौं महानगरको कांग्रेस सभापतिको जिम्मेवारी धेरै हुन्छ । महानगरमा बलियो कांग्रेस बनाएर देशैभरी ऊर्जा भर्ने काम गर्छु ।’ 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);