यी हुन कांग्रेसका पुरानै क्रियाशील सदस्यबाट अधिवेशन हुने स्थान | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

यी हुन कांग्रेसका पुरानै क्रियाशील सदस्यबाट अधिवेशन हुने स्थान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको किचलो टुंग्याएको छ । क्रियाशील सदस्यताको विवाद ढिलो गरी टुंग्याएपछि निर्धारित निर्वाचन कार्यातालिकामा असर परेको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलले १३ जिल्लाको क्रियाशील सदस्यता विवाद आइतबार मात्रै समाधान गरेको हो । सदस्यता विवाद ढिलागरी टुंगिँदा भोलि ९मंगलबार० का लागि तोकिएको २० जिल्लाको वडा अधिवेशन प्रभावित हुने देखिएको छ । २० जिल्लाबाहेक सात जिल्लाले मात्रै भोलि वडा अधिवेशन गर्ने तयारी गरेका छन् । बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता प्रकाशित नै भएको छैन ।

१३ जिल्लामा वडा अधिवेशन भोलि हुने सम्भावना छैन । निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले सोमबार बिहान सम्म क्रियाशील सदस्यता समितिमा आइनपुगेको बताए । उनले सदस्यताको विवरण समितिलाई प्राप्त भएपछि चाँडै जिल्लामा पठाइने जानकारी दिए ।

‘कार्यतालिका पुरानै हो, निर्वाचन अधिकृतले जिल्लामा छलफल गरेर अधिवेशन सुरु गर्नुहुन्छ,’ यादवले न्युज कारखानासँग भने, ‘वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा ९ असोजमा पालिका अधिवेशन हुन्छ, बाँकी जिल्लाको विस्तारै हुँदैगर्छ ।’ कार्यदलले गरेको ९ बुँदे सहमतिअनुसार विवाद भएका क्षेत्रमा नयाँ क्रियाशील सदस्यता स्वीकृत नगरेर १३ औं महाधिवेशनकै बेलाको क्रियाशील सदस्यबाट वडा अधिवेशन गर्ने सहमति छ ।

उक्त सहमति कार्यान्वयन गर्न सदस्यता छानविन समितिका सदस्यहरू केन्द्रीय सदस्य आनन्द ढुंगाना, जीवन परियार र योगेन्द्र चौधरीलाई सहजिकरणको जिम्मा दिइएको छ । सहमति अनुसार २०७२ सालमा भएको १३ औं महाधिवेशनकै बेला अधिवेशन हुन नसकेको धनुषाको प्रतिनिधि सभा क्षेत्र नन्बर ५ को क्षेत्रीय अधिवेशन यसपालि गर्न नेतृत्वले विशेष पहल गर्ने सहमति पनि भएको छ ।

बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ भने निर्वाचन क्षेत्र–२ को १७ वडामा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन हुनेछ । क्षेत्र नम्बर ३ को कलैया उपमहानगरपालिकाका केही वडामा पनि नयाँ सदस्यता स्थगन गरिएको छ । सप्तरीको निर्वाचन क्षेत्र १, २ र ४ मा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन प्रक्रिया सुरु हुनेछ । सर्लाहीको क्रियाशील सदस्यता टुंगिएर छपाइमा गइसकेको छ ।

रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ मा क्रियाशील सदस्यता विवाद थियो। त्यहाँ अब सदस्यता थप गर्ने सहमति गरिएको छ । वीरगञ्जमा सदस्यता छानविन समितिका संयोजक लेखक, ढुंगाना र जीवन परियारसहित रौतहटका सबै पक्षका नेताहरुसँग छलफल गरेर सहमति भएको हो । लेखक संयोजक रहेको समितिले प्रदेश २ का बारा र सप्तरीको क्रियाशील सदस्यता फाइल नै खोलेको थिएन भने सर्लाही– २ र धनुषा–४ को विवाद मिलाउने जिम्मा पार्टी पदाधिकारीलाई दिएको थियो ।

धनुषा प्रतिनिधि सभा निर्वाचन क्षेत्र–४ को वट्टेश्वर नगरपालिका–५, क्षिरेश्वर नगरपालिका–१० मा नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ । त्यस्तै मिथिला बिहारी नगरपालिका–६ र १०, लक्ष्मीनिया गाउँपालिका –१ र २ मा वडा सभापतिले सिफारिस गरेकालाई मात्रै मान्यता दिने सहमति भएको छ । क्षिरेश्वर नगरपालिका–७, लक्ष्मीनिया गाउँपालिका–३, ४, ५ र ६, मिथिला बिहारी नगरपालिका–२ र जनकपुर उपमहानगरपालिका–१९ मा वडा सभापतिले सिफारिस गरेका क्रियाशील सदस्यहरुले मात्रै मान्यता पाउने भएका छन् । अहिले स्थगन भएका नयाँ क्रियाशील सदस्यतालाई १४औं महाधिवेशनपछि प्रक्रिया पुर्‍याएर दिने कार्यदलले सहमति गरेको छ । सुदूरपश्चिम प्रदेशको कैलालीको

टीकापुर नगरपालिका–१ मा नयाँ सदस्यता स्थगन गरेर पुरानाबाटै अधिवेशन हुने सहमति भएको छ । नयाँ क्रियाशील सदस्यताका सम्बन्धमा वडाले पेस गरेको सूची र क्षेत्रीय सभापतिले पेस गरेको सूचीमा विवाद देखिएपछि नवीकरणलाई मात्रै मान्यता दिइएको हो । त्यस्तै नेकपा एमालेबाट कांग्रेस प्रवेश गरेका नेता मोहनसिंह राठौरलाई कांग्रेसको पुराना क्रियाशील सदस्यता संख्यामा शतप्रतिशतभन्दा नबढ्ने गरी कायम गर्ने समझदारी नेताहरुले गरेका छन् ।

कांग्रेस प्रवेश गरेका आशाराम चौधरीलाई १ सय २५ जना थप क्रियाशील सदस्यता दिने र समता पार्टीबाट बर्दगोरिया गाउँपालिकामा पाँच जना क्रियाशील सदस्यता थप गर्ने नेताहरुबीच सहमति भएको छ । कैलालीको निर्णय कार्यान्वयनको जिम्मा नेताहरु जीवन परियार र योगेन्द्र चौधरीलाई दिइएको छ । बर्दियाको मधुवन नगरपालिका–३ मा अखण्ड नेपालबाट ३१ जनालाई क्रियाशील सदस्यता थप गर्ने समझदारी भएको छ ।

डोल्पामा राप्रपाबाट प्रवेश गरेका कर्णबहादुर बुढालाई एक हजार क्रियाशील सदस्यता दिने निर्णय गरेकोमा समितिले जम्मा २ सय ५० सदस्यता स्वीकृत गरेको थियो । वडा अधिवेशनमा समायोजनबाट आएका व्यक्तिले जितेमा क्रियाशील सदस्यता थप गर्ने समझदारी भएको छ । कांग्रेसमा लामो समय क्रियाशील सदस्यता विवाद नटुंगिदा पटकपटक महाधिवेशनको मिति सर्दै आएको छ ।

३० भदौमा क्रियाशील सदस्यताको सूची प्रकाशित भएका काठमाडौं, मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बर्दिया, कपिलवस्तु र बाजुरामा भोलि वडा अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । पालिका अधिवेशन ९ असोजमा हुने गरी मिति तय गरिएको छ । सातौंपटक संशोधन गरिएको कार्यतालिका अनुसार प्रदेश क्षेत्रीय अधिवेशन १२ असोजका लागि तोकिएको छ । एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन १५ असोज र त्यसभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन १८ असोजमा हुने गरी सारिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);