सुदूरपश्चिममा खाद्य संस्थान र साल्ट ट्रेडिङका छुट्टाछुट्टै सुपथ मूल्य पसल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

सुदूरपश्चिममा खाद्य संस्थान र साल्ट ट्रेडिङका छुट्टाछुट्टै सुपथ मूल्य पसल

धनगढी । विगतमा एउटै स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्दै आइरहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुदूरपश्चिममा यस वर्ष छुट्टाछुट्टै स्थानबाट पसल सञ्चालन गर्ने भएका छन् । 

यसअघि धनगढीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय अगाडीबाट संयुक्त सुपथ मूल्य पसल सञ्चालन गरिने भए पनि दुवै संस्था प्रतिस्पर्धामा उत्रिदा यस वर्ष छुट्टाछुट्टै पसल सञ्चालन गर्ने भएका हुन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनले ठाउँ उपलब्ध नगराउँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले छुट्टै स्थानबाट पसल सञ्चालन गरिएको जनाएको छ । ‘पोहोर साल ठाउँ नभएको भन्दै बिचैमा साल्ट ट्रेडिङले हाम्रो सामग्री बेच्न दिएन,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीका जिन्सी सहायक जगत कुँवरले भने,‘त्यसैले यस वर्ष हामी आफ्नै पसल सञ्चालन गरेर चाडबाडमा जनतालाई सुपथ मूल्यमा सामग्री उपलब्ध गराउने छौं ।’ 

उनका अनुसार सुदूरपश्चिमस्थित कैलालीको धनगढी र मोहनपुर, कञ्चनपुरको महेन्द्रनगर, अछाम, डडेल्धुरा, बझाङ र बाजुराको दुई ठाउँमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको छ । सुपथ मूल्यका पसलबाट मोटो चामल, जिरा चामल र गहुँ मात्रै बिक्री हुने जनाइएको छ । उनका अनुसार खाद्यान्नमा प्रति क्विन्टल ५ सय रुपैयाँ छुट गरिएको छ । यस वर्षदेखि छुट्टै पसल सञ्चालन गरिएका कारण धेरै सामग्री राख्न नसकिएको बताउँदै उनले आगामी वर्ष उपभोग्य सामग्री बढाइने बताए । 

खाद्य व्यवस्थाले शुक्रबार आफ्नो मात्रै सुपथ मुख्य पसल सञ्चालन गर्दा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले शनिबारदेखि पसल सञ्चालनको तयारी गरेकोछ । साल्ट ट्रेडिङले शनिबारदेखि धनगढीस्थित आफ्नै कार्यालयमा जोडिएको सटरबाट सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । 

साल्ट ट्रेडिङका नायव कार्यकारी अधिकृत केशवप्रसाद पाण्डेले खाद्य संस्थानले पसल सञ्चालनमा समन्वय नगरेको बताए । ‘हाम्रो आफ्नै सामग्री धेरै हुँदा ठाउँ अभाव भइरहेको थियो,’ पाण्डेले भने, ‘त्यसैमा खाद्य कम्पनीले हामीसँग समन्वयनै नगरेर आफ्नै पसल सञ्चालन गरेकोछ। अब हामी आफ्नो छुट्टै पसलबाट जनतालाई सामग्री उपलब्ध गराउनेछौं ।’ 

उनले साल्ट ट्रेडिङले नुन, चिनी, दाल, तेल, चामल, साबुनलगायत दैनिक उपभोग्य सामग्री सुपथ मूल्यमा बिक्री बताए । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुपथ मूल्य पसलमार्फत नुन प्रतिकिलो १८ रुपैयाँ र चिनी प्रतिकिलो ७९ रुपैयाँ तथा अन्य सामग्रीमा पनि छुट दिइने बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);