ऐतिहासिक तथा पूरातात्विक सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

ऐतिहासिक तथा पूरातात्विक सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु

काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ ।

२०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पले ध्वस्त बनाएको सो सम्पदाको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपछि छानो छाउने काम सुरु गरिएको हो ।

सातौं शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिकै प्रयोग गरेर झिंगटीको छानो छाउने काम सुरु गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए ।

उनले सो सम्पदाको पुनर्निर्माणको काम सम्पन्न गर्न अझै केही महिना लाग्ने पनि स्पष्ट पारे । समितिले पूरानै मौलिकतालाई कायम राखेर सो सम्पदा पुनर्निर्माणको काम सम्पन्न गरेर विश्वलाई नै नमूना उदाहरण पेश गर्न सक्षम हुने दाबी समेत गरेको छ ।

हालसम्म यो सम्पदाको पुनर्निर्माणका लागि ११ करोड ५० लाख रुपैया खर्च गरिएको छ । काठमाडौं महानगरपालिकाको अनुदान सहायतामा भईरहेको पुनर्निर्माणको काम छिटो सम्पन्न गरी उद्घाटन गर्ने योजना तय गरिएको समितिका अध्यक्ष शाक्यले बताए ।

काठैकाठको प्रयोग, झिंगटीको छाना, चारकुने इँटका गरा, लेसाइलो मोटाको लिपाई र मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना थियो–काष्ठमण्डप । समितिले सोही मौलिक प्रविधिको उपयोग गरी यसको पुनर्निर्माण गरेकाले काम सम्पन्न गर्न समय लागेको पनि स्पष्ट पारेको छ ।

करिव १९ करोड लागत अनुमान गरिएको सो ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदाको पुनर्निर्माणको काम अव छिट्टै सक्ने समितिको योजना छ । सोही योजना अनुसार छानो छाउने कामलाई सुरु गरिएको समितिका अध्यक्ष शाक्यले दोहो-याए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);