ताप्लेजुङ । कोरोना भाइरस संक्रमित भएका मध्ये ताप्लेजुङमा करिब ९३ प्रतिशत संक्रमणमुक्त भएका छन् । मंगलबार अपरान्हसम्म सक्रिय कोरोना संक्रमितको संख्या एक सय ६७ मा झरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकार खड्काका अनुसार अहिले सक्रिय संक्रमितको तुलनामा करिब ७ प्रतिशत मात्र सक्रिय संक्रमित रहेका छन् ।
कोरोनाको दोस्रो भेरियन्ट सुरु भएयता दुई हजार ४ सय १८ जनामा कोरोना संक्रमण देखिएकोमा दुई हजार २ सय ३५ जना संक्रमणमुक्त भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मैवाखोला, मेरिङ्देन र फक्ताङ्लुङमा संक्रमण शून्य छ । जिल्ला अस्पतालले परीक्षण गरेकामध्ये ६८ र फुङलिङ नगरपालिका आफैले परीक्षण गरेकामध्ये ६ गरी फुनपा भित्र ७४ जना सक्रिय कोरोना संक्रमित रहेको प्रशासन कार्यालयको विवरणमा उल्लेख भएको छ ।
आठराई त्रिवेणी गाउँपालिकामा ४, मिक्वाखोला गाउँपालिकामा ३, पाथीभरा याङ्वरक गाउँपालिकामा ६० जना, सिदिङ्वा गाउँपालिकामा १४ जना र सिरिजंगा गाउँपालिकामा १२ सक्रिय संक्रमित रहेको प्रशासन कार्यालयले जनाएको छ ।
सक्रिय संक्रमितमध्ये एक सय ५९ जना होम आइसोलेसनमा र चारजना ताप्लेजुङ जिल्ला अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालमा सामान्य रुपले उपचार गराइरहेका प्रशासन कार्यालयले बताएको छ । चारजनलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।
कोरोनाको दोस्रो भेरियन्ट सुरु भएयता ताप्लेजुङका १६ जना नागरिकले कोरोनाकै कारण ज्यान गुमाएको विवरण प्रशासनसँग छ । तर, प्रशासनले जिल्ला भित्रै मृत्यु भएकाहरुको विवरण मात्र राख्ने गरेको छ । उपचारका लागि जिल्ला बाहिरसमेत गएर मृत्यु भएकाको संख्या जोड्दा यहाँका २२ जना नागरिकले कोरोनाकै कारण ज्यान गुमाइसकेका विभिन्न तथ्यांकबाट देखिन्छ ।




