काठमाडौं । बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार पनि बजार परिसूचक नेप्से उतार चढावबीच ४८ अंकले ओरालो लागेर ३ हजार ७६ अंकमा आएर थामिएको छ ।
पछिल्ला दिन निरन्तरजसो बुलिस ट्रेण्डमा रहँदै आएको बजारमा मंगलबार पनि ५६ अंकको गिरावट आएको थियो । बुधबार सबै समूह राताम्य रहँदा बीमा समूह ४ सय अंक हाराहारीले तल झरेका छन् ।
निर्जीवन बीमा समूहमा सबैभन्दा उच्च ४ सय २२ अंकको तथा जीवन बीमा समूह साढे ३ सय अंकले ओरालो लाग्यो । विकास बैंक र उत्पादनमूलक समूहमा पनि डेढ सय अंकमाथिको कमी आयो ।
अरु समूह पनि अधिकांश दोहोरो अंकले ऋणात्मक रहे । यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय २७ कम्पनीको १ करोड ९५ लाख कित्ता शेयर १२ अर्ब ९ करोडमा किनबेच भएको छ ।