कोरोना संक्रमित बढेपछि दिक्तेल रुपाकोट मझुवागढी नगर शील | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरोना संक्रमित बढेपछि दिक्तेल रुपाकोट मझुवागढी नगर शील

सन्जिब राई,
खोटाङ
। विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण खोटाङमा पनि दिनानुदिन बढ्दै गएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दश दिनका लागि शील गरिएको छ । दैनिकजसो गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि हुने दर नरोकिएपछि मंगलबारदेखि भदौ १० गतेसम्मका लागि नगरपालिकामा शील गरिएको हो ।

लकडाउन लागू गरिएको अवधिमा नगरपालिकाभित्र सञ्चालन हुँदै आएको हाटबजार, सरकारी तथा वित्तीय कार्यालयको सेवा, यातायातका सवारी साधन पूर्ण रुपमा ठप्प बनाइने नगरप्रमुख दीपनारायण रिजालले बताए ।

“पछिल्लो समय दिक्तेल बजारमा सङ्क्रमण उच्च अधिक देखिएको छ”, उनले भने, “कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि नगरपालिकाभित्रका औषधि पसल, इन्धन, तरकारी पसल लगायत अत्यावश्यक कामका लागि सञ्चालन गर्नुपर्ने बाहेकका सम्पूर्ण होटल, व्यापार व्यवसाय तथा यातायातका साधन बन्द गरिएको छ ।”

पन्ध्र वडा रहेको यस नगरपालिकाभित्र संक्रमित दर उच्च देखिएपछि उच्च सतर्कता अपनाउनु पर्ने अवस्था देखिएको भन्दै गत साउन २७ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले नगरपालिकामा दश दिन शील गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाभित्रका सरकारी तथा गैर–सरकारी, संस्थान, बैङ्क तथा वित्तीय संस्था लगायतका कार्यालयको सेवा स्थगन गर्ने, नगरभित्रका हाटबजार, सभा सम्मेलन, जुलुस, धार्मिक क्षेत्रमा हुने पुजा लगायतका भिडभाड हुने सबै क्षेत्र बन्द गर्ने, नगरभन्दा बाहिरका शहर र अन्य क्षेत्रबाट पूर्वस्वीकृति लिएर आउने नगरबासीले अनिवार्य १५ दिन होम क्वारेन्टीनमा बस्नुपर्ने निर्णय गरिएको छ ।

कोभिड अस्पतालले रेफर गरेका बिरामीलाई मात्र नगरपालिकाले रेफर गरेको अस्पतालमा गाडीमार्फत पु¥याउने, नगरभित्रका सम्पूर्ण सरकारी, अत्यावश्यक सेवाका लागि बाहिर निस्कनु परेमा जनस्वास्थ्यका मापदण्ड अपनाएर उच्च स्वास्थ्य सतर्कता अपनाएर मात्र निस्कने, अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने, मास्क र सेनिटाइजर प्रयोग गरी भौतिक दूरी जस्ता जनस्वास्थ्यको मापदण्ड अनिवार्य परिपालना गर्ने-गराउने निर्णय भएको छ ।

दिक्तेल बजारकै एकजना संक्रमितको मृत्यु भएपछि नगरपालिकालाई गत जेठ ७ गतेदेखि केही समय बजार क्षेत्रमा शील गरिएको थियो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारमा यसअघि लागू गरिएको निषेधाज्ञाको अवधिमा बैङ्क तथा वित्तीय संस्था र कतिपय सरकारी कार्यालयको सेवा प्रवाहलाई छुट दिएर व्यापार व्यवसाय मात्र बन्द गर्न खोजेको व्यवसायीको गुनासो थियो । नगरपालिकामा पछिल्लो समय सक्रिय संक्रमितको सङ्ख्या १३४ जना रहेको नगर स्वास्थ्य शाखा प्रमुख तीर्थ आचार्यले बताए ।

एक हजार २३७ जनामा संक्रमण देखिएको यस नगरपालिकामा हालसम्म आठ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाइ सकेका छन् । नगरपालिकामा संक्रमण पुष्टि भएका सक्रिय संक्रमित मध्ये गम्भीर छ जना दिक्तेलस्थित कोभिड अस्पतालमा र १२८ जना होम आइशोलेसनमा रहेका छन् ।

नगरपालिकाले लागू गरेको निषेधाज्ञा कार्यान्वयन भए-नभएको अनुमन गर्न नगरप्रमुख रिजालसहित प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, प्रहरी नायब उपरीक्षक उमेश लम्साल, नेपाल रेडक्रस सोसाइटी खोटाङका पदाधिकारी लगायतका टोली बजार निस्किएको थियो ।

पछिल्लो समय जिल्लाभर नै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि पुनः समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्लाका दशवटै स्थानीय तहमा ‘तपाईको मास्क खोइ ?’ अभियानसमेत सुरु गरिएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा गत वैशाख यता दुई हजार २०६ जनामा कोरोना संक्रमण देखिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ३ सय २९ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए ।

अहिलेसम्म निषेधाज्ञा लागू नगरिएको यस जिल्लामा हालसम्म १२ जनाले ज्यान गुमाइ सकेका छन् । नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ठूला शहर तथा तराईका जिल्लामा ५०० र पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा तत्काल निषेधाज्ञा लागू गर्न भनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);