ऋणात्मक बजेट नीतिले भुक्तानमा समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ऋणात्मक बजेट नीतिले भुक्तानमा समस्या

श्याम गुप्ता,
बारा। बाराको निजगढ नगरपालिकाले आर्थिक वर्ष २०७७ र ७८ मा विभिन्न शिर्षकमा सम्पन्न भएका योजनाहरूको भुक्तानी दिन नसक्दा चौतर्फी आलोचना सुरु भएको छ ।

अघिल्लो आर्थिक वर्षमा सम्पन्न भैसकका विद्यालय भवन निर्माण, मर्मत सम्भार, गुम्बा, मन्दिर निर्माण, सार्वजनिक शौचालय निर्माण, फन पार्क, क्लब घर निर्माण लगायतका योजनाहरुको भुक्तान अझै बाँकी छ ।

उपभोक्ता समिति मार्फत नगरपालिकाले खर्च भएको १४ करोड भन्दा बढी रकम अझै सम्म पनि भुक्तानी गर्न नसकेको हो । नगरपालिकाले गत आर्थिक वर्ष महत्वकांक्षी बजेट तर्जुमा गरेर साना टुक्रे योजना बनाउँदा रकम अभावमा भुक्तानीमा जटिलता आएको हो ।

आव २०७६ र ७७ मा निजगढ नगरपालिकाको कुल बजेट रु।६६ करोड १ लाख ९४ हजार थियो, भने गत आव २०७७र७८ मा बढेर ९६ करोड २१ लाख ८० हजार ४ सय ७० रुपैयाँ पुगेको थियो ।

चालू आव २०७८र७९ मा निजगढ नगरपालिकाको प्रस्तावित बजेट रु.१ अर्ब १ करोड ९४ लाख २३ हजार ८ सय प्रस्तुत गरिएको छ । चालू वर्षको लागि प्रस्तावित बजेटलाई पनि धेरैले महत्वाकांक्षी मानेका छन् र नगरपालिकाको आलोचना पनि हुँदै आएको छ ।

स्रोतको पहिचान नगरी बजेट मात्रै ठुलो बनाउँदा चालू आवमा निजगढ नगरपालिकामा थप आर्थिक व्ययभार थपिने सम्भावना रहेको नगरपालिका कार्यालयका लेखा शाखाका कर्मचारीहरुले बताएका छन् ।

उता काम सम्पन्न भैसक्दा समेत रकम भुक्तानी नहुँदा उपभोक्ता समितिका पदाधिकारी मर्कामा परेका छन् । नगरपालिकाबाट हुँने विकास कार्यमा प्रयोग हुँने हार्डवेयर लगायत अन्य निर्माण सामानका लागि कतिपय उपभोक्ता संस्था, समितिका लागि जनप्रतिनिधिहरू नैं जमानी बसी उधारोमा सामग्री लिएर काम सम्पन्न गरेका छन् ।

यस्तो अवस्थामा पसलेले बारम्बार फोन गरी भुक्तानीको पहल गर्ने गरेको एक जना जनप्रतिनिधिले बताएका छन् । स्थानीय तहलाई ऋणात्मक बजेट निर्माण गर्न कानूनले बर्जित गरेको छ, तर नगरपालिकाले यो वर्षको लागि पनि घाटा बजेट तर्जुमा गरेर कानुनको उल्लघंन गरेकाे छ ।

यता नगरपालीकाका प्रमुख मेयर सुरेश खनालले गत आर्थिक वर्षको भुक्तान गर्न बाँकी रकम चाँडै भुक्तान गर्ने तैयारी भैरहेको जानकारी दिएका छन् । छोटो समयको कार्यकालमा धेरै काम गर्नु पर्ने भएकाले सानो तिनो समस्या आउँने तर, यसबाट आँफु नआत्तिएको उनले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);