काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गर्दै पुनः लम्ब्याइएको छ । यसअघि जारी गरिएको निषेधाज्ञा बुधबार राति १२ बजेबाट सकिने भएपछि मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले साउन २८ गतेदेखि भदौ ८ गतेसम्म लागु हुनेगरी निषेधाज्ञा थप गरेको हो ।
यसका साथै आजका बैठकले उपत्यकामा ८ बजेपछि सवारीसाधन चलाउन नदिने निर्णय गरेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद ढुंगानाले जानकारी दिए । अत्यावश्यक सवारी साधनहरु पनि चलाउन पाइने बताएको छ ।
स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने भएको छ । यसअघि जस्तै निषेधाज्ञामा कुनै पनि प्रकारका सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस लगायतका भिडभाड हुने कार्यक्रमहरुमाथिको निषेध यथावत रहेको छ ।
खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने पनि निर्णयमा उल्लेख गरिएको छ । शैक्षिक संस्थाहरूको हकमा पनि अहिले भौतिक उपस्थितिमा पठनपाठनमा लगाएको रोक पनि यथावत नै रहेको छ । रेष्टुरेन्ट तथा फास्टफुड, अनलाइन अर्डर र टेकअवेका सेवाहरुलाई पनि साँझ ७ बजे सम्मलाई अनुमति दिइएको छ ।
औषधि तथा स्वास्थ्य सामाग्रीका पसलहरू जुनसुकै समयमा सञ्चालन गर्न पाइने छ भने अन्य पसल तथा व्यवसायहरु साँझ ७ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ । बाहेक अरू पसल तथा व्यवसायहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछन्।