काठमाडाैं । सत्ता गठबन्धन कार्यदलको बैठक आजपनि बस्ने भएको छ ।
सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि र आचारसंहिता टुङ्गो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
आजको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिताका विषयमा छलफल हुने बताइएको छ । यसअघि सोमबार दिउँसो बसेको प्रमुख शीर्ष नेताको बैठकले गठबन्धन सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम चरणमा पुगको र आज बस्ने बैठकले टुंग्याउने बताइएको छ ।
कांग्रेस सभापति देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । गठबन्धन भित्रका दल आन्तरिक समस्यामा अल्झिएसँगै मन्त्रिपरिषद् विस्तारको कामले पूर्णता पाउन नसकेको हो ।
सत्तारूढ गठबन्धनले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलमा कांग्रेसका तर्फबाट डा मीनेन्द्र रिजाल, रमेश लेखक, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन् ।
कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, सङ्घीयताको कार्यान्वयन लगायतका विषय समेटिएका छन् ।