शिरमा देश र मनमा मधेसको भावना राखेर सबैले काम गर्नुपर्छ: प्रदेश २ प्रमुख राजेश झा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

शिरमा देश र मनमा मधेसको भावना राखेर सबैले काम गर्नुपर्छ: प्रदेश २ प्रमुख राजेश झा

पर्सा । प्रदेश २ का प्रमुख राजेश झा ‘अहिराज’ले शिरमा देश र मनमा मधेसको भावना राखेर सबैले काम गर्नुपर्ने बताएका छन् ।

पर्साका सुरक्षा निकायका पदाधिकारीहरूसँगको अन्तर्क्रियामा सहभागीहरूको जिज्ञासा सुनेपछि उनले यस्तो बताएका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा आयोजित कार्यक्रममा उनले देशमा पछिल्लो समय अभाववाद र अतिवाद बढ्दै गएको जसको कारण देश कट्टरवाद र द्वन्द्ववादमा फस्दै गएको बताए । हरेक नागरिकलाई देशप्रति गर्व गर्न लायक भावना जागृत गराउन सुरक्षा निकाय, निजामती र पत्रकार मितेर काम गर्नुपर्ने उनले सुझाव दिए ।

उनले भने, “पत्रकार समाजका ऐना हुन्, उनीहरूका माध्यमले समाजमा लुकेका सफलताका कथा, पीडितका व्यथा, नवीन योद्धा, जीवनप्रतिको आस र राज्यप्रतिको विश्वास जगाउने खालका सहकार्य गर्न आवश्यक छ ।” उनले प्रदेश प्रमुख बनेपछि विभिन्न पहाडी र हिमाली जिल्लाको पनि भ्रमण गरेको चर्चा गर्दै त्यहाँ आफूले निकै माया र सद्भाव पाएको बताए ।

ठीक समयमा देशमा राष्ट्रिय एकता कायम गर्न जिल्ला तहबाट सहकार्य भएन भने आगामी दिनमा कट्टरवाद झनै फैलिने उनले बताए ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले जिल्लाको शान्ति सुरक्षा तथा कोरोना महामारी नियन्त्रण गर्न विगतमा गरिएका गतिविधिका बारेमा जानकारी गराएका थिए ।

त्यसैगरी, पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले गत आवमा पर्सामा अपराधजन्य गतिविधि १० प्रतिशतले बढेको भन्दै आत्महत्या र लागूऔषध ओसारपोसारका घटनामा पनि वृद्धि भएको बताएका थिए ।

त्यसैगरी, पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले सीमा सुरक्षा तथा सीमास्तम्भका बारेमा जानकारी गराए । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले अस्पतालले कोरोना महामारीको तेस्रो लहरलाई रोक्न गरिरहेको तयारी तथा विगतका प्रगति विवरण सुनाएका थिए ।

स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवलकिशोर साहले खोप कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा चण्डीप्रसाद गणका गणपति नैन बस्नेत, पर्साका अनुसन्धान उपनिर्देशक टीकाप्रसाद पोखरेल, वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव राजपाल, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी, महासङ्घ प्रदेश २ का महासचिव श्याम बन्जारालगायतको सहभागिता थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);