दार्चुला । एक नेपाली महाकालीमा खसेर बेपत्ता भएको घटनामा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई पत्र पठाउँदै छानबिन गरेर सहयोग गरिदिन आग्रह गरेको छ ।
पिथौरागढ डीएम कार्यालयलाई पत्राचार गरिएको दार्चुला जिल्ला प्रशासन कार्यलयले जनाएको छ । भारततर्फ पुग्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी खोलेपछि महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको घटनामा नेपालले भारतीय पक्षलाई पत्र पठाउँदै छानबिन गर्न आग्रह गरेको हो ।
धामीका परिवारले जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापनपत्र बुझाउँदै घटनामा भारतीय एसएबसीको संलग्नताबारे छानबिन गर्न माग गरेको छ । शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् ।
प्रत्यक्षदर्शीकाअनुसार तुइनबाट महाकाली नदी पार गरिरहेका धामी नदीको छेउमा नपुग्दै एसएसबीले फलामे डोरी निकालिदिएका थिए । धामीसँगै गएका तीन जना तुइन तरेर पारी पुगेका बताइएको छ ।
बेपत्ता धामीको खोजी भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।