दाहाललाई भिम रावलको जवाफ : म ढलेको होइन, एमालेलाई ढाल्ने षड्यन्त्रविरुद्ध उभिएको हुँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दाहाललाई भिम रावलको जवाफ : म ढलेको होइन, एमालेलाई ढाल्ने षड्यन्त्रविरुद्ध उभिएको हुँ

काठमाडौं । नेकपा एमालेका नेता भिम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएर आफू ढलेको नभई नेकपा एमालेलाई ढाल्ने षड्यन्त्रविरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका केही साथीहरु ढलेको भनी दिएको अभिव्यक्तिप्रति सामाजिक सञ्जालमार्फत् जवाफ फर्काउँदै नेता रावलले यस्तो बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले भीम रावललाई इंगित गर्दै गठबन्धनमा राम्रो भूमिका खेलेका नेताहरु पनि नपत्याउँदो ढंगले ढलेको टिप्पणील गरेका थिए । उलने भनेका थिए –‘‘यो गठबन्धन भत्काउन कसरत हुँदा केही साथीहरु नपत्याउँदो किसीमले ढल्दिनु भयो । राजीनामा प्रकरणले थाहा हुन्छ गठबन्धनमा राम्रो भूमिका खेलेका, बडो स्पीरिटका साथ काम गरेका साथीहरु पनि ढले । त्यतिकै ढलेका होइनन्, बडो गम्भीर ढंगले चीजहरु भएका छन् ।’

दाहालको यस्तो अभिव्यक्ति प्रति आपत्ति जनाउँदै नेता रावलले शनिबार साँझ विज्ञप्ति निकाल्दै आफू ढलेको नभई एमालेलाई ढाल्ने षड्यन्त्रविरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको बताएका हुन् । उनले भनेका छन्–‘‘प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन नेकपा एमालेलाई ढाल्ने षड्यन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ । एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासँक कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धनको संस्कृति हो ?’’

आफ्नो राजीनामालाई ‘पाँच दलको गठबन्धन’ फुटाउने ‘खेल’ भन्ने दाहालको आरोप हास्यास्पद र मनगढन्त भएको समेत उल्लेख गरेका छन् । उनले प्रचण्डलाई एमाले विभाजन गर्न खोजेको आरोप पनि लगाएका छन् ।

गठबन्धन प्रतिनिधि सभाको पुनस्थापनाको लागि भएको उल्लेख गर्दै सो क्रममा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सहमति भएको उनले उल्लेख गरेका छन् । यसअन्तर्गत सबैको आ–आफ्नै स्वार्थ भएको उनको दाबी छ –‘‘देउजीको स्वार्थ प्रधानमन्त्री हुने, प्रचण्डजीको स्वार्थ आफ्ना पार्टीका मानिसलाई मन्त्री बनाउने, उपेन्द्र यादवजीको स्वार्थ महन्थ ठाकुरसँगको संघर्षमा जीत हासिल गर्ने र माधवकुमार नेपाल पक्षको स्वार्थ पार्टीमा स्वेच्छाचारी क्रियाकलापलाइ पराजित गर्ने रहेको थियो । कोही पनि आफ्नो पार्टी फुटाएर अरु कसैको सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका होइनन् । साझा स्वार्थ मिल्दासम्म सहयात्रा गर्ने कुरा मात्र हो । ’’

एमालेका सांसदले सांसद पद मात्र नभई आफ्नो राजनीतिक भविष्य समेत दाउमा राखेर प्रतिनिधिसभाको पुनस्थापना र देउवालाई प्रधानमन्त्री बनाउन योगदान पु¥याएको उल्लेख गर्दै नेता रावलले त्यो अवस्थामा आफू भएको भए त्यसतो त्याग गर्न सक्नुहुन्थ्यो भन्दै दाहालसामु प्रश्न तेस्र्याएका छन् ।

पार्टी फुटाएर देश, जनता र वामपन्थी आन्दोलन कसैको भलो नहुन स्पष्ट भएको पनि रावलले उल्लेख गरेका छन् ।

रावल एमाले भित्रको विवाद समाधानका लागि गठित कार्यदलमा नेपाल पक्षका संयोजक थिए । गएको ३ गते रावलले प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत लिने प्रस्ताव राख्न पूर्व राजीनामा दिएका थिए । तर पार्टीको दबावपछि पुन राजीनामा फिर्ता लिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);