काठमाडौं, ९ कार्तिक । तराईवासी हिन्दूहरुको महान पर्व छठको मुख्य दिन आज राजधानी काठमाडौँ सहित तराईका विभिन्न जिल्लामा धुमधामका साथ मनाईंदै छ। आज अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिँदै छठ पर्व मनाउने गरिन्छ। आज छठका लागि तराईका विभिन्न जिल्लाका नदी तथा तलाउका किनारा झकिझकाउ पारिएको छ।
दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन बिहानैदेखि भेला हुन थालेका छन्। जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा छठ मनाउन ब्रतालुहरुको घुईचो लाग्न थालेको छ।
वीरगन्जको घडीअर्वा पोखरी, नवलपरासीकोा परासीसंँगै, त्रिवेणी, नवलपुर क्षेत्रलगायतका नदी तथा तालहरु, यस्तै झापाको मेची नदी, विरीङ, मावा, रतुवा, निन्दालगायतका नदी किनारमा पूजा गर्न भक्तजनहरुको घुँइचो लागेको छ।
सप्तरीको कोशी व्यारेज, छिन्नमस्ता, कञ्चनपुर, हनुमाननगर, बीरेन्द्रबजार, सीतापुर, महुली, रुपनी, बर्साइन, पातो, कल्याणपुर, कडरबोना, मानराजा, सखडा, सदरमुकाम राजविराजसहितका स्थानहरुमा पनि उत्तिकै उल्लासले यो पर्व मनाईदै छ। कोशीव्यारेजमा भारतको पूर्णिया, फारबिसगञ्ज, राजपुरसहित स्थानबाट छठ मनाउन सयौं ब्रतालुहरु नेपाल आएका छन्।