छठ पर्वकाे चहलपहल शुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

छठ पर्वकाे चहलपहल शुरू

काठमाडाैं । यस वर्षको तिहार पर्व सकिएसँगै तराइ–मधेशमा छठ पर्वको आवश्यक तयारी र चहलपहल शुरू भएको छ ।
छठपर्व कात्तिक शुक्ल चतुर्थीका दिनदेखि सुरु भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ । छठपर्व नजिकिँदै गर्दा तराइ मधेशमा मात्र नभइ काठमाडौं उपत्यकामा पनि पोखरी तथा नदी किनारामा सिँगार्न थालिएको छ ।

कतिपय पोखरीका घाटमा सरसफाइ गरिएको छ । बजारमा पनि पूजा सामग्री किन्नेहरुको चहलपहल बढेको छ । यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहल पहल बढेको हो । आदिदेव सूर्य भगवानलाई अर्घ्य दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, ईनार लगायत जलाशयको किनारमा घाट बनाएर विशेष रुपले सिंँगारिँदै छ । खास गरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरीहरु गंगासागर, धनुष सागर, अंगराजसर, दशरथ तलाउ लगायतका पोखरीहरुलाई नवदुलही झैँ सजाँइदै छ ।

तराइमा छठको छुट्टै महत्व रहेको छ । सूर्य भगवान तथा छठी माताको पूजा पानीमै गरिने छठलाई निष्ठा र श्रद्धाको पर्व मानिन्छ । वीरगञ्जमा रहेको घडिअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितका पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ । वीरगञ्जको घडीअर्वा पोखरीमा दुई दशकभन्दा अगाडिदेखि छठ पर्व मनाउँदै आइरहेको छ ।

यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक १० गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ ।

Leave a Reply